arrow

जलवायु स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य: मन्त्री चौधरी

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ४ सोमबार
gita-chaudary-05.jpg

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले नेपालमा जलवायु स्मार्ट कृषिको विस्तार र कृषि क्षेत्रको रूपान्तरणका लागि अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य रहेको बताएकी छन्। नेपाल कृषि खाद्य प्रणाली सुदृढीकरण परियोजनाको प्रारम्भिक कार्यशालालाई सम्बोधन गर्दै उनले कृषि क्षेत्रलाई आधुनिकीकरण, व्यवसायीकरण र जलवायु–स्मार्ट प्रविधिमार्फत रूपान्तरण गर्ने सरकारको लक्ष्य रहेको स्पष्ट पारिन्। यी लक्ष्य हासिल गर्न चीन सरकार, चाइना इन्टरनेसनल डेभलपमेण्ट कोअपरेशन एजेन्सी (सिडका), संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) तथा अन्य विकास साझेदारहरूको सहयोग आवश्यक रहेको उनको भनाइ थियो।

अन्तर्राष्ट्रिय साझेदारीमा आधुनिक पूर्वाधारको निर्माण गरी कृषि उत्पादनमा वृद्धि गर्ने, खाद्य सम्प्रभुता सुनिश्चित गर्ने तथा दिगो मूल्य शृङ्खला विकास गर्ने सरकारको योजना रहेको मन्त्री चौधरीले उल्लेख गरिन्। हाल नेपालको कृषि क्षेत्र न्यून उत्पादकत्व, जलवायु परिवर्तनका बढ्दो असर, प्राकृतिक विपद्, कृषिमा आश्रित युवा जनशक्तिको वैदेशिक पलायन, तथा आधुनिक प्रविधि र बजारसम्मको सीमित पहुँचजस्ता संरचनागत चुनौतीबाट प्रभावित रहेको उनले बताइन्। साथै, अन्तर्राष्ट्रिय मान्यता प्राप्त परीक्षण प्रयोगशालाको अभावका कारण नेपाली कृषि उपजको निर्यातमा समेत समस्या देखिएकाले आधुनिक परीक्षण प्रयोगशालाको निर्माण र विस्तारलाई सरकारले उच्च प्राथमिकतामा राखेको जानकारी दिइन्।

मन्त्री चौधरीले कृषि क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड मात्र नभई बहुसङ्ख्यक जनसमुदायको जीविकोपार्जन, संस्कृति र पहिचानको आधार भएको बताउँदै यी चुनौतीलाई अवसरमा रूपान्तरण गर्नुपर्नेमा जोड दिइन्। महिला तथा सीमान्तकृत समुदायको सशक्तिकरण गर्दै समावेशी आर्थिक वृद्धि हासिल गर्ने राष्ट्रिय लक्ष्यमा चीन सरकार, सिडका र एफएओ जस्ता दातृ निकायबाट सहयोगको अपेक्षा गरिएको उनले प्रस्ट पारिन्। 

सिडकाको सहयोगमा कार्यान्वयनमा जान लागेको यस परियोजनाले जलवायु स्मार्ट कृषि अभ्यासको प्रवद्र्धन, पोषण सुधार, बजार पहुँच विस्तार र स्थानीय संस्थागत क्षमताको सुदृढीकरणमार्फत समग्र कृषि खाद्य प्रणालीलाई थप सक्षम बनाउन दूरगामी योगदान पुर्‍याउने विश्वास व्यक्त गरिन्। चीनसँग नेपालको सम्बन्ध ऐतिहासिक र सौहार्दपूर्ण रहेको उल्लेख गर्दै उनले कृषि आधुनिकीकरण र गरिबी न्यूनीकरणमा चीनले हासिल गरेको अनुभव नेपालका लागि उपयोगी हुने बताइन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ