arrow

फुटबलमा नयाँ युगको थालनी

स्पेन च्याम्पियन, मेस्सीको अर्जेन्टिना उपविजेता

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ४ सोमबार
spain-goal-07-03-083.jpg

काठमाडौँ । अमेरिकाको न्यु जर्सीस्थित न्युयोर्क–न्यु जर्सी स्टेडियममा सम्पन्न रोमाञ्चक फाइनल खेलसँगै समाप्त भएको फिफा विश्वकप २०२६ ले विश्व फुटबलमा एक नयाँ युगको सूत्रपात गरेको छ। इतिहासकै पहिलो पटक ४८ राष्ट्रको सहभागिता, अत्याधुनिक विज्ञान तथा प्रविधिको उच्च प्रयोग र अभूतपूर्व आर्थिक सफलताले यो विश्वकपलाई केवल एक खेलकुद प्रतियोगिता मात्र नभई विश्व फुटबलको भविष्य निर्धारण गर्ने ऐतिहासिक मोड बनाएको छ।

परम्परागत रूपमा सीमित महाशक्ति राष्ट्रहरूको वरपर घुम्ने फुटबलको दायरालाई फराकिलो बनाउँदै यसपटक केप भर्डे जस्ता साना टापु राष्ट्रहरूले समेत विश्व मञ्चमा देखाएको उत्कृष्ट प्रदर्शनले आगामी दिनमा फुटबलको प्रतिस्पर्धात्मक नक्सा पूर्ण रूपमा फेरिने संकेत दिएको छ। पहिलो पटक ठूलो संख्यामा नयाँ देशहरूले विश्वकपमा खेल्ने अवसर पाउनुले समग्र विश्वकै फुटबल विकासमा महत्त्वपूर्ण इँटा थपेको छ।

त्यस्तै, प्रतियोगिताबाट फिफाले करिब १५ अर्ब अमेरिकी डलरको कीर्तिमानी आम्दानी गर्नु र खेल सञ्चालनका क्रममा विज्ञान तथा प्रविधिको उच्चतम प्रयोग गरिनुले व्यावसायिक फुटबललाई नयाँ उचाइमा पुर्याएको छ। स्पेनले अनुशासन र सामूहिक रणनीतिको उत्कृष्ट नमुना प्रस्तुत गर्दै दोस्रो पटक विश्वकप उचाल्दा र साविकको विजेता अर्जेन्टिना उपविजेतामा सीमित बन्दा विश्व फुटबलमा शक्ति सन्तुलनको नयाँ आयाम देखिन थालेको छ।

यसरी, मैदानभित्रका साहसिक खेल कौशल, नयाँ कीर्तिमान, र खेलकुदलाई प्रविधिसँग जोड्ने सफल अभ्यासले फिफा विश्वकप २०२६ लाई फुटबल इतिहासमा नै एक युगान्तकारी अध्यायका रूपमा स्थापित गरेको छ।

फिफाको आदर्श स्वच्छ खेल र अनुशासित प्रदर्शन गर्दै स्पेन फिफा विश्वकप २०२६ को च्याम्पियन बन्न सफल भएको छ। अमेरिकाको न्यु जर्सीस्थित न्युयोर्क–न्यु जर्सी स्टेडियममा सम्पन्न रोमाञ्चक तथा प्रतिस्पर्धात्मक फाइनल खेलमा साविकको विजेता अर्जेन्टिनालाई अतिरिक्त समयको १०६औँ मिनेटमा फेरान टोरेसले गरेको निर्णायक गोलमार्फत १–० गोलले पराजित गर्दै स्पेनले आफ्नो दोस्रो विश्वकप उपाधि उचालेको हो।

खेल अवधिभर रेफ्री स्लाभको भिन्सिकले अनुशासन उल्लङ्घन गरेको आधारमा देखाएका सबै सातवटै पहेँलो कार्ड अर्जेन्टिनाका खेलाडी तथा प्रशिक्षकले पाएका थिए भने स्पेनका खेलाडीले कुनै पनि कार्ड नखाएर अनुशासनको उच्च नमुना प्रस्तुत गरे। अतिरिक्त समयमा अर्जेन्टिनाका एन्जो फर्नान्डेजले दोहोरो पहेँलो कार्डसहित रातो कार्ड पाएर मैदान छाडेपछि १० खेलाडीमा सीमित बन्न पुगेको अर्जेन्टिनामाथि दबाब कायम राख्दै स्पेनले उपाधि चुम्यो। स्पेनका कप्तान रोड्रीले प्रतियोगिताभर उत्कृष्ट खेल प्रदर्शन र नेतृत्व गरेबापत ‘गोल्डेन बल’ प्राप्त गरे भने सबैभन्दा कम गोल गर्ने गोलकिपर उनाई सिमोन ‘गोल्डेन ग्लोभ’ र रक्षापङ्क्तिका कुर्बासी सर्वोत्कृष्ट युवा खेलाडी बन्न सफल भए। स्पेनले यसअघि सन् २०१० मा दक्षिण अफ्रिका विश्वकप जितेको थियो।

लियोनल मेस्सीको नेतृत्वमा रहेको अर्जेन्टिनाले फाइनलसम्म उत्कृष्ट यात्रा तय गरे पनि निर्णायक खेलमा आक्रामक खेल प्रस्तुत गर्न असफल रह्यो। समूह चरणदेखि नै गतिलो प्रदर्शन गरेको अर्जेन्टिनाका लागि मेस्सीले अल्जेरियाविरुद्ध ह्याट्रकसहित कुल आठ गोल गरे पनि टोलीलाई लगातार दोस्रो पटक च्याम्पियन बनाउने सपना भने अधुरै रह्यो।

फिफा अध्यक्ष जियानी इन्फान्टिनोका अनुसार यसपटकको प्रतियोगिताबाट फिफाले करिब १५ अर्ब अमेरिकी डलर कीर्तिमानी आम्दानी गरेको छ। विजेता स्पेनले ५ करोड अमेरिकी डलर र उपविजेता अर्जेन्टिनाले ३ करोड ३० लाख डलर पुरस्कार प्राप्त गरेका छन्। यसैगरी, फ्रान्सका स्ट्राइकर किलियन एम्बाप्पेले विभिन्न विश्वकपमा गरी सर्वाधिक २२ व्यक्तिगत गोलको कीर्तिमान बनाउँदै ‘गोल्डेन बुट’ जिते। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ