किन पर्छन् काठमाडौँका मुख्य क्षेत्रहरू सामान्य वर्षामा पनि डुबानमा ?
ढलको सीमित क्षमता र टुकुचाको सास्तीले यात्रुलाई हैरानी
हाम्रा कुरा
प्रकाशित २०८३ साउन १ शुक्रबार
365
Shares
काठमाडौँ । अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबार लगायतका आसपासका क्षेत्रहरू सामान्य वर्षामा पनि डुबानमा पर्ने क्रम अझै रोकिएको छैन। बिहीबार मध्याह्न भएको सामान्य वर्षापछि यी क्षेत्रहरू जलमग्न हुँदा सवारी आवागमन ठप्प प्रायः बन्यो भने यात्रुहरूले लामो समयसम्म ट्राफिक जामको सास्ती व्यहोर्नुपर्यो।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रवक्ता प्रकाशकुमार राईका अनुसार माइतीघर क्षेत्र ओरालोमा अवस्थित भएकाले वरपरको सबै पानी बगेर सोही स्थानमा जम्मा हुने गरेको छ। "माइतीघर क्षेत्रको ढल टुकुचा खोलातर्फ निकास हुने भए पनि वर्षाको समयमा टुकुचामा पानीको सतह बढेपछि ढलको पानी सहज रूपमा बग्न पाउँदैन, जसका कारण सडकमा पानी जम्ने गरेको छ," प्रवक्ता राईले भने, "मुख्य समस्या ढल निकास प्रणालीमै छ, पुराना पाइपहरू साना छन्।"
सहरी विकास योजना र पूर्वाधारको अभावका कारण यसप्रकारका समस्या बर्सेनि दोहोरिने गरे पनि हालसम्म कुनै दीर्घकालीन समाधान हुनसकेको छैन। उक्त क्षेत्रमा रहेका अधिकांश ढलका पाइपहरू पुराना र साँघुरा हुनुका साथै तिनको क्षमता मनसुनी वर्षाको पानीको तीव्र बहाव धान्न सक्ने खालको छैन। माइतीघर, न्यूप्लाजा र सिंहदरबार आसपासको ढल व्यवस्थापनलाई एकीकृत रूपमा सुधार गर्ने सम्बन्धमा विभिन्न निकायहरूबीच छलफल भए पनि अहिलेसम्म विस्तृत योजना कार्यान्वयनमा आउन सकेको छैन।
तीव्र सहरीकरण, वर्षाको पानी छुट्टै निकास गर्ने (स्टोर्म ड्रेन) प्रणालीको अभाव, पुराना ढलको सीमित क्षमता तथा नदी–खोलाहरूको प्राकृतिक बहाव साँघुरिँदै जानु नै राजधानीमा बर्सेनि डुबानको समस्या बढ्नुका प्रमुख कारणहरू हुन्।