सर्वोच्चको आदेशपछि सम्पत्ति छानबिन आयोगको काम स्थगित
विवरण बुझाउने म्यादकै दिन सबै प्रक्रिया स्थगित
हाम्रा कुरा
प्रकाशित २०८३ असार ३२ बिहिबार
170
Shares
काठमाडौँ । सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण सङ्कलन र छानबिनसम्बन्धी आफ्ना सम्पूर्ण कार्यहरू हालका लागि पूर्ण रूपमा स्थगित गरेको छ।
आयोगले आज एक सूचना जारी गर्दै सर्वोच्च अदालतबाट यही असार ३१ गते भएको आदेशअनुसार रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्मका लागि भन्दै सो कार्य रोकेको जनाएको हो। विशेष कुरा त, आयोगले सम्पत्ति विवरण बुझाउने अन्तिम म्याद आज (असार ३२ गते) सम्मका लागि मात्रै तोकेको थियो, तर म्याद सकिने दिन नै सर्वोच्चको आदेशका कारण प्रक्रिया रोकिएको छ।
आयोगले पूर्वन्यायाधीश, संवैधानिक आयोगका पूर्वपदाधिकारी र नेपाली सेनाका पूर्वपदाधिकारीबाहेक सार्वजनिक जवाफदेहीको पदमा रहेका अन्य राजनीतिक पदाधिकारी तथा कर्मचारीहरूको सम्पत्ति विवरण सङ्कलन गरी छानबिन अघि बढाउँदै आएको थियो। अब अदालतको अन्तिम फैसला नआएसम्म यो प्रक्रिया यथास्थितिमा रहनेछ।