नेपालको सार्वजनिक शिक्षा सुधारमा जापानको निरन्तर सहयोग रहने
शिक्षामन्त्री पोखरेलसँग जापानी राजदूत तोरुको शिष्टाचार भेटवार्ता, सूचना प्रविधि क्षेत्रमा सहकार्य बढाउने प्रतिबद्धता
हाम्रा कुरा
प्रकाशित २०८३ असार ३२ बिहिबार
122
Shares
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि जापानी राजदूत मायदा तोरुले आज सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेटवार्ता गरेका छन्। भेटका क्रममा उनीहरूबीच नेपाल–जापान मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध, साझा हित तथा शिक्षा र खेलकुद क्षेत्रमा गर्न सकिने बहुआयामिक सहकार्यका विषयमा गहन विचार–विमर्श भएको छ।
नेपाल सरकारको प्रवक्ता समेत रहेका मन्त्री पोखरेलले सार्वजनिक शिक्षा सुधारका चुनौतीहरूलाई स्वीकार गर्दै सरकार पूर्ण प्रतिबद्धताका साथ अघि बढिरहेको बताए। शिक्षामा गरिएको लगानीको प्रतिफल आउन समय लाग्ने भए पनि सुधारको प्रक्रिया तत्काल सुरु भइसकेको उल्लेख गर्दै उनले विद्यालयहरूको भौतिक पूर्वाधार मूल्याङ्कनको काम अघि बढाइएको जानकारी दिए। सोही मूल्याङ्कनका आधारमा आगामी दिनमा विद्यालयहरूमा बजेट विनियोजन गरिने स्पष्ट पार्दै मन्त्रालयले भौतिक पूर्वाधार, शैक्षिक सुविधा तथा शिक्षक तालिमलाई प्राथमिकतामा राखेको उनले बताए।
मन्त्री पोखरेलले सुरक्षित विद्यालय पूर्वाधार, ‘डिजिटल’ तथा ‘स्मार्ट लर्निङ’, शिक्षकको पेसागत क्षमता विकास, विद्यालय स्वास्थ्य तथा पोषणका क्षेत्रमा जापान सरकारसँग सहकार्यको प्रस्ताव गरे। साथै, जापानमा विद्यालय तहदेखि नै विद्यार्थीलाई सांस्कृतिक मूल्य र अनुशासन सिकाउने अभ्यास निकै प्रभावकारी रहेको भन्दै नेपालले पनि त्यसको अनुशरण गरी कार्यक्रमहरू सञ्चालन गर्न चाहेको धारणा राखे।
जापानी राजदूत तोरुले सार्वजनिक विद्यालय शिक्षा सुधारका लागि नेपाल सरकारले थालेका प्रयासहरूको सरहाना गर्दै त्यसमा जापानको निरन्तर सहयोग रहने विश्वास दिलाए। उनले विद्यालय शिक्षाको सुधार र सुशासनका लागि दीर्घकालीन राजनीतिक प्रतिबद्धता, सक्षम कर्मचारीतन्त्र तथा समग्र प्रणालीको विश्वास आवश्यक हुने उल्लेख गरे।
गुणस्तरीय शिक्षाका लागि शिक्षक तालिम अपरिहार्य रहेको औंल्याउँदै राजदूत तोरुले शिक्षकहरूको पेसागत विकासका कार्यक्रमलाई प्रभावकारी रूपमा उपयोग गर्न सुझाव दिए। शिक्षा क्षेत्रको सुधारले परिणाम दिन समय लिने भएकाले प्रारम्भिक चरणमै दृढ प्रतिबद्धता र धैर्यता आवश्यक पर्ने उनको भनाइ थियो।
भेटका क्रममा राजदूत तोरुले नेपालमा नीतिगत स्थायित्व, प्रशासनिक सहजीकरण तथा पूर्वाधार विकासलाई थप गति दिन सके जापानी निजी क्षेत्रको आकर्षण अझ बढ्न सक्ने उल्लेख गरे।
विशेष गरी सूचना प्रविधि क्षेत्रमा नेपाल र जापानबीच सहकार्य विस्तार गर्ने प्रशस्त सम्भावना रहेको बताउँदै उनले डिजिटल पूर्वाधार विस्तार, प्राविधिक जनशक्ति विकास, नवप्रवर्तन तथा लगानी प्रवर्द्धनका क्षेत्रमा दुई देशबीचको साझेदारीलाई अझ मजबुत बनाउन सकिने धारणा राखे।