काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र साह बालेनले महिला उद्यमीहरूको उद्यमशीलता विकासका लागि हरसम्भव सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज महिला उद्यमी महासङ्घ नेपालका पदाधिकारीहरूसँग भएको छलफलमा उनले महिला उद्यमीका समस्या समाधान गर्न सरकार सक्रिय रहेको र उनीहरूले उत्पादन गरेका वस्तुहरूलाई पर्यटकीय स्थलहरूमा प्रवर्द्धन गर्ने वातावरण निर्माण गरिने प्रतिबद्धता जनाए।
छलफलका क्रममा महासङ्घले विकास गरेको ‘म उद्यमी ट्रेडमार्क’लाई स्थापित गर्न राखेको चासोप्रति प्रधानमन्त्री साहले सकारात्मक जवाफ दिँदै उक्त ट्रेडमार्कलाई शीघ्र बजारमा ल्याउन सुझाव दिए।
महासङ्घका प्रतिनिधिहरूले व्यवसायमैत्री वातावरण सुनिश्चित गर्न, व्यापार मेला, प्रदर्शनी, ‘बिजनेस–टु–बिजनेस म्याचिङ’ र निर्यात प्रवर्द्धनका कार्यक्रममा महिला उद्यमीहरूको अनिवार्य सहभागिता गराउन आग्रह गरे। उनीहरूले सार्वजनिक खरिद ऐन तथा नियमावलीमा आवश्यक व्यवस्था गरी महिला उद्यमीलाई प्राथमिकता दिन तथा सरकारी कार्यालय र शैक्षिक संस्थाहरूले महिला उद्यमीका वस्तु तथा सेवा खरिद गर्नुपर्ने व्यवस्था लागू गर्न अनुरोध गरे।
महिला उद्यमीहरूले हाल उपलब्ध वित्तीय सहुलियतहरू वास्तविक उद्योगीसम्म पुग्न नसकेको गुनासो गर्दै उक्त सुविधा गाउँ–गाउँसम्म विस्तार गर्न र पुँजी अभावका कारण उद्यम रोकिन नदिन धितोको वैकल्पिक व्यवस्था गर्न माग गरे। साथै, महासङ्घलाई सरकारका नीति निर्माण तथा निर्णय प्रक्रियामा सहभागी गराउनुपर्ने माग गर्दै उनीहरूले स्थानीय तहमा सीपमूलक तालिम सञ्चालनका लागि दक्ष स्रोत व्यक्ति उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गरे।
आफ्ना समस्या गम्भीरतापूर्वक सुनेर तत्काल पहल सुरु गरिदिएकामा महासङ्घका पदाधिकारीहरूले प्रधानमन्त्री साहसमक्ष कृतज्ञता व्यक्त गरे। महासङ्घका अध्यक्ष दर्शना श्रेष्ठले भनिन्, “प्रधानमन्त्रीले हामीलाई सुन्नु मात्र भएन, समस्या समाधानका लागि तत्काल पहल अघि बढाउनेदेखि आवश्यक सबै किसिमका सहकार्य गर्न तत्परता देखाउनुभयो। एक्सन ओरिएन्टेड प्रधानमन्त्रीसँगको संवादले महिला उद्यमशीलताको प्रवर्द्धनमा ठूलो मद्दत पुग्ने हाम्रो विश्वास छ।”
बैठकमा महिला उद्यमशीलताको प्रवर्द्धन, लगानी तथा वित्तीय पहुँच विस्तार, उद्यममैत्री नीतिगत सुधार, सीप तथा क्षमता विकास, नवप्रवर्तन, डिजिटल उद्यमशीलता तथा महिला नेतृत्वमा आधारित उद्यमहरूको दिगो विकासका विविध आयाममाथि गहन छलफल भएको थियो। छलफलमा महासङ्घका तर्फबाट अध्यक्ष श्रेष्ठसहित प्रथम उपाध्यक्ष सुनिता वैद्य, तृतीय उपाध्यक्ष महालक्ष्मी श्रेष्ठ, महासचिव सविता सुवेदी र सचिव डिकीला लामा लगायतको सहभागिता रहेको थियो।