काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले नेपाली कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारबाट समर्थन फिर्ता लिएको छ। धनगढीमा बुधबार बसेको एमाले प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने औपचारिक निर्णय गरेको हो।
एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले आगामी आर्थिक वर्षको बजेटमा पार्टीको असहमति रहेको र सो समस्या समाधानका लागि छलफल चलिरहेकै अवस्थामा आफ्नो पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूलाई अकस्मात पदमुक्त गरिएकाले समर्थन फिर्ता लिनुपरेको जानकारी दिए।
नेता रावलले आगामी कदमका बारेमा पार्टीभित्र आन्तरिक छलफल तथा केन्द्रीय नेताहरूसँग आवश्यक परामर्श गरेर मात्र अघि बढ्ने स्पष्ट पारेका छन्। एमालेले प्रदेश सरकारको निरन्तरता र विवादित बजेटका विषयमा छिट्टै आफ्नो ठोस र आधिकारिक धारणा सार्वजनिक गर्ने तयारी गरेको छ।
यसअघि बुधबार नै मुख्यमन्त्री कमलबहादुर शाहले सत्ता साझेदार दल एमालेका मन्त्रीहरूलाई पदमुक्त गरेका थिए। मुख्यमन्त्री शाहले भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्रबहादुर पाल, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापा, आन्तरिक मामिला तथा कानुनमन्त्री हीरा सार्की र भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्मला साउदलाई पदमुक्त गरेपछि एमालेले तत्कालै आकस्मिक बैठक डाकेर सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरेको हो।
मन्त्रीहरूको बर्खास्तगी र एमालेको समर्थन फिर्तासँगै सुदूरपश्चिम प्रदेशको राजनीतिले नयाँ र जटिल मोड लिएको छ।