arrow

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको प्रारम्भिक तयारी तीव्र

सरसफाइ र विद्युत् जडानको काम भइरहेको

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ३१ बुधबार
heatauda-kapada.jpg

काठमाडौँ । लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालनमा ल्याउने तयारीस्वरूप उद्योग परिसरमा सरसफाइ तथा विद्युत् जडानको कार्य तीव्र पारिएको छ। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, हेटौँडा शाखाका सूचना अधिकारी हिमालय भण्डारीका अनुसार हाल उद्योगभित्र प्रारम्भिक चरणका कामहरूलाई उच्च प्राथमिकता दिइएको छ।

अहिले उद्योग परिसरमा वर्षौँदेखि थुप्रिएको झारपात, फोहोरमैला तथा अनावश्यक पुराना सामग्रीहरू हटाउने काम भइरहेको छ। यसका साथै उद्योग सञ्चालनका लागि अत्यावश्यक पर्ने विद्युत् प्रसारण लाइन मर्मत तथा नयाँ विद्युत् जडानको कार्य पनि सँगसँगै अगाडि बढाइएको छ। यी आधारभूत कामहरू पूरा भए लगत्तै उद्योगभित्र रहेका पुराना भवन, मेसिनरी सामान तथा अन्य भौतिक संरचनाको विस्तृत प्राविधिक मूल्याङ्कन (टेक्निकल अडिट) गरिने सूचना अधिकारी भण्डारीले जानकारी दिए।

लामो समयसम्म उद्योग पूर्ण रूपमा ठप्प रहेकाले त्यहाँ रहेका मेसिन तथा उपकरणहरू कत्तिको कार्यसक्षम छन् भन्ने यकिन गर्न विस्तृत अध्ययनको आवश्यकता देखिएको छ। सो कार्यका लागि नेपाली सेनाको प्राविधिक टोलीले आवश्यक आन्तरिक तयारी गरिरहेको कार्यालयले जनाएको छ।

उद्योग पुनः सञ्चालनको कार्यलाई चरणबद्ध रूपमा अघि बढाइएको छ, जसअन्तर्गत पहिलो चरणमा परिसर व्यवस्थापन र विद्युत् आपूर्ति सुनिश्चित गरिनेछ भने दोस्रो चरणमा मेसिनहरूको सूक्ष्म निरीक्षण, मर्मतसम्भार तथा प्राविधिक परीक्षणका प्रक्रियाहरू अघि बढाइनेछ।

चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा स्थापना भएको हेटौँडा कपडा उद्योग मुलुककै पुराना र प्रतिष्ठित सरकारी उद्योगहरूमध्ये एक हो। वि.सं. २०३५ सालदेखि व्यावसायिक उत्पादन सुरु गरेको यस उद्योगले एक समय स्वदेशी कपडा उत्पादन र आपूर्तिमा मुलुकलाई आत्मनिर्भर बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याएको थियो।

आफ्नो स्वर्णकालमा पूर्ण क्षमतामा सञ्चालन हुँदा यस उद्योगले १ हजार २ सयभन्दा बढी नागरिकलाई प्रत्यक्ष रोजगारी दिएको थियो। तर, विविध व्यवस्थापकीय र प्राविधिक कमजोरीका कारण वि.सं. २०५६ सालदेखि यो उद्योग पूर्ण रूपमा बन्द हुन पुगेको थियो। वर्तमान सरकारले देशका बन्द तथा रुग्ण सरकारी उद्योगहरूलाई ब्युँताउने नीति अघि सारेसँगै यस उद्योगले पनि नयाँ जीवन पाउने आशा पलाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ