काठमाडौँ । उपत्यकाको प्रमुख पर्यटकीय गन्तव्यमध्येको एक कीर्तिपुर नगरपालिका–६ स्थित ऐतिहासिक टौदह र त्यस वरपरका बस्तीहरू बाग्मती नदीको तीव्र कटानका कारण गम्भीर जोखिममा परेका छन्। बाग्मतीले विगत दुई वर्षदेखि आफ्नो प्राकृतिक धार परिवर्तन गरी पश्चिमी किनारातर्फ एकोहोरो माटो कटान गर्न थालेपछि टौदहको पूर्व र दक्षिणतर्फका बस्तीहरू संकटमा परेका हुन्।
स्थानीयवासी मिलन खड्काका अनुसार बाग्मतीको कटान बढ्दै जाँदा अहिले नै टौदहको पूर्वतर्फका कान्लाहरूबाट पानी चुहिन थालिसकेको छ। समयमै कटान नियन्त्रणका लागि ठोस कदम नचाल्ने हो भने पर्यटकीय क्षेत्र टौदहको अस्तित्व नै मेटिने खतरा बढेको छ। बाग्मती नदीको पारिपट्टि ललितपुर महानगरपालिकाले संरक्षण पर्खाल लगाएपछि नदीको बहाव पश्चिमतर्फ सोझिएर एकोहोरो कटान भइरहेको स्थानीयको भनाइ छ।
यसका साथै पश्चिमतर्फ कीर्तिपुर नगरपालिका–४ मा पर्ने दूधपोखरी क्षेत्रबाट बगेर आउने खहरे खोलाले पनि कटान तीव्र पारेको छ। खोलाको दक्षिणतर्फ दक्षिणकाली नगरपालिकाले संरक्षण पर्खाल लगाए पनि कीर्तिपुर नगरपालिकाको तर्फबाट तटबन्धका लागि कुनै पहल नहुँदा कटान रोकथामको काम अलपत्र परेको अर्का स्थानीय अन्जिल खड्काले बताए।
बाग्मती नदीको कटानबाट टौदह र बस्ती जोगाउन विभिन्न सरकारी निकायहरूले तटबन्ध तथा टेवा पर्खाल निर्माणका लागि बजेट छुट्याउने गरेका छन्। तर, स्थानीय तहहरूबीच सीमा कहाँसम्म हो भन्ने यकिन (रेखाङ्कन) हुन नसक्दा विनियोजित बजेट काम नै नभई बर्सेनि फिर्ता जाने गरेको छ।
स्थानीयवासीले सीमाङ्कन स्पष्ट गरिदिनका लागि अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिसँग पटक-पटक माग गरे पनि अहिलेसम्म सुनुवाइ हुन सकेको छैन। स्पष्ट सीमाङ्कन नभएकै कारण ठेक्का पाएका निर्माण व्यवसायीहरूले समेत काम सुरु गर्न नमान्दा टौदह संरक्षणको कार्य पूर्ण रूपमा ठप्प बनेको छ।