घरभाडा घरबेटीको इच्छाले होइन वैज्ञानिक मापदण्डले निर्धारण गर्न माग [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ असार ३० मंगलबार
370
Shares
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रमेश प्रसाईँले घर तथा कोठा भाडा निर्धारणका लागि वैज्ञानिक मापदण्ड बनाउन सरकारसँग माग गरेका छन्।
मनपरी रूपमा भाडा निर्धारण हुँदा विद्यार्थी, मजदुर र निम्न आय भएका नागरिक सबैभन्दा बढी मारमा परेको उनको भनाइ छ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद प्रसाईँले घरभाडा निर्धारणमा कुनै स्पष्ट मापदण्ड नभएको भन्दै सरकारको ध्यानाकर्षण गराए।
उनले घरबेटीले आफ्नो इच्छाअनुसार आठ, नौ वा १० हजार रुपैयाँसम्म भाडा निर्धारण गर्ने गरेको उल्लेख गर्दै त्यसलाई नियमन गर्ने प्रभावकारी व्यवस्था आवश्यक रहेको बताए।
"भाडा कुन मापदण्डमा टेकेर निर्धारण गरिन्छ? घरबेटीको इच्छाबाहेक अर्को मापदण्ड छैन। भएको पनि प्रभावकारी रूपमा लागू भएको छैन," उनले भने।
प्रसाईँले घरभाडाको विषय सामान्य नभई हजारौं विद्यार्थी, दैनिक ज्यालादारी मजदुर र न्यून आय भएका परिवारको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको विषय भएको बताए।
सरकारले विभिन्न शीर्षकमा कर उठाउने तर भाडामा बस्ने नागरिकको समस्याप्रति बेवास्ता गरेको आरोप लगाउँदै उनले तीनै तहका सरकारको ध्यानाकर्षण गराए।
"तीन तहको सरकार तीनतले घर हुनेहरूको मात्रै हो?" भन्दै उनले सरकारलाई प्रश्न गरे।
सांसद प्रसाईँले सामानमा मूल्यसूची (प्राइस ट्याग) टाँसेजस्तै घरको भित्तामा भाडादर टाँस्नुपर्ने आफ्नो आशय नभए पनि सार्वजनिक यातायातको भाडादर निर्धारण गरेजस्तै घर तथा कोठा भाडाको पनि वैज्ञानिक र पारदर्शी मापदण्ड बनाउनुपर्नेमा जोड दिए।
उनले घरभाडा व्यवस्थापनका लागि स्पष्ट नीति र प्रभावकारी कार्यान्वयनको व्यवस्था गर्न सरकारसँग आग्रह गरे।