arrow

प्रतिनिधि सभा

मिडिया र राजनीतिक नेतृत्वमाथि त्रास फैलाउनेलाई कारबाही गर्न एमाले सांसद ठगुन्नाको माग

स्वास्थ्य र सुकुम्बासी मुद्दामा सरकारको आलोचना

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ३० मंगलबार
thagunna.jpg

काठमाडौँ । प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद गणेशसिंह ठगुन्नाले मिडिया र राजनीतिक नेतृत्वमाथि मानसिक त्रास फैलाउने गतिविधिमा संलग्नहरूलाई तत्काल कडा कारबाही गर्न सरकारसँग माग गरेका छन्। मङ्गलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद ठगुन्नाले विभिन्न सञ्चारमाध्यम र राजनीतिक नेतृत्वको घरमा सवारी साधन तेर्स्याएर त्रास फैलाउने काम भएको भन्दै आपत्ति जनाएका हुन्।

उनले यस किसिमको गतिविधिलाई पञ्चायतकालीन मण्डले तन्त्रले फैलाएको राज्य आतङ्कको झल्कोका रूपमा चित्रण गर्दै यस्ता सांकेतिक गतिविधिहरू देशको हितमा नरहेको स्पष्ट पारे। हेर्दा सामान्य लागे पनि यो गम्भीर विषय भएको हुनाले सरकारले यस कार्यमा संलग्न व्यक्तिहरूलाई कानुन बमोजिम कडा कारबाही गर्नुपर्ने उनको जोड थियो।

बैठकमा सांसद ठगुन्नाले नागरिकको स्वास्थ्य उपचारप्रति सरकार गम्भीर नभएको आरोप समेत लगाए। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले हालै '३५ सय रुपैयाँको प्रिमियममा एक लाखको स्वास्थ्य उपचार सेवाको दायित्व भुक्तानी गर्न नसकिने' भनी दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै उनले वर्तमान सरकार गरिब नागरिकको उपचारप्रति गैरजिम्मेवार बनेको पुष्टि भएको दाबी गरे। स्वास्थ्य क्षेत्र अस्तव्यस्त बनेको र नागरिकको स्वास्थ्य सेवामा पहुँच बढाउनुपर्ने बेला अर्थमन्त्रीबाट यस्तो गैरजिम्मेवार भनाइ आउनु दुःखद भएको उनको जिकिर थियो।

यसका साथै सांसद ठगुन्नाले सुकुम्बासीहरूमाथि सरकारले अमानवीय व्यवहार गरिरहेको भन्दै तीव्र आक्रोश व्यक्त गरे। उनले प्रधानमन्त्री बालेन्द्र साहले चालेका कतिपय कदमहरू राष्ट्रहित विपरीत रहेको आरोप लगाउँदै ती गतिविधिहरू तत्काल सच्याउनुको विकल्प नरहेको समेत बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ