तराई नजिक न्यून चापीय रेखा, यी प्रदेशमा भारी वर्षाको सम्भावना
हाम्रा कुरा
प्रकाशित २०८३ असार ३० मंगलबार
378
Shares
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ सरेर नेपालको तराई भू–भाग नजिकै रहेकाले मौसमी गतिविधि बढेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ।
आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश बादल लाग्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थान र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना रहेको छ।
यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका धेरै स्थानमा तथा मधेस प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई एवं कर्णाली प्रदेशको पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। यसै गरी कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागको थोरै स्थानमा तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराई एवं लुम्बिनी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
आज राति देशभर साधारणतया बादल लाग्ने महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा वा हिमपात हुन सक्नेछ। मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा तथा कर्णाली प्रदेशको पहाडी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना देखिन्छ। रातिको समयमा कोशी प्रदेशको तराई र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
विभागले वर्षा हुने क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षय जस्ता प्राकृतिक प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन अपिल गरेको छ। लगातारको वर्षाका कारण ती क्षेत्रहरूमा दैनिक जनजीवनका साथै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा समेत असर पर्ने सम्भावना रहेकाले विशेष सावधानी अपनाउन र विभागको पछिल्लो सूचनामा निरन्तर अद्यावधिक रहन महाशाखाले सर्वसाधारणसँग अनुरोध गरेको छ।