कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष शर्मामाथि निवासमै आक्रमण, सांसदलाई दोष
नारायण वली,
प्रकाशित २०८३ असार २९ सोमबार
1.6k
Shares
लुम्बिनी । कपिलवस्तुको कृष्णनगरमा आइतबार कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष सिताराम शर्मा उर्फ (रितेश शर्मा) माथि उनकै निवासमा प्रवेश गरी एक समूहले सांघातिक आक्रमण गरेको छ ।
करिब १५–२० जनाको समूहले घरमै बसिरहेका अध्यक्ष शर्मामाथि आक्रमण गरेको पीडितले बताए । हाम्राकुरालाई प्राप्त सीसीटीभी फुटेज अनुसार उनीहरू दिउँसो २ बजेर ८ मिनेट २४ सेकेन्डमा शर्माको घरभित्र प्रवेश गरेका थिए ।
उक्त समूहले अन्धाधुन्ध कुटपिट गर्दा संघका अध्यक्षको टाउको र हातमा चोट लागेको पीडित शर्माले बताएका छन् । आपराधिक घटनापछि पीडित पक्ष न्यायको लागि प्रमाणसहित जाहेरी दिने तयारीमा रहेको संघका अध्यक्ष पीडित शर्माले बताए ।
उनले अगाडि थपे, 'कृष्णनगरमा लामो समयदेखि मौलाएको बेतिथि, अनियमितता र आपराधिक गतिविधिहरुका विरुद्ध मैले निरन्तर सशक्त आवाज उठाउँदै आएकोले त्यही प्रतिशोध साँध्न सांसद अभिषेकप्रताप शाहको आडमा नियोजित रुपमा आक्रमण गरिएको हो।'
आक्रमणकारीहरुको समूहले अध्यक्षको घरका झ्यालका सिसाहरु फुटाउनुका साथै भित्र राखिएका सामानहरु तोडफोड गरी क्षति पुर्याएको बताइएको छ ।
इलाका प्रहरी कार्यालय कृष्णनगरले घटनास्थलको मुचुल्का उठाए पनि घटनामा संलग्नहरुलाई अहिलेसम्म नियन्त्रणमा लिन सकेको छैन ।
यस विषयमा बुझ्न घटनामा संलग्न भनिएका संघीय सांसद अभिषेक प्रताप शाह र कृष्णनगरका नगरप्रमुख रजत प्रताप शाहलाई सम्पर्क गर्दा दुवै जनाले मोबाइल फोन अफ गरेका कारण सम्पर्क हुन सकेन ।
यता जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रमुख एसपी मनोहरप्रसाद भट्टले आफूलाई ‘सामान्य विवाद मात्रै भएको’ भन्ने सुन्नमा आएको बताउँदै आक्रमण भएको भन्ने कुनै लिखित केही नआएको जनाए ।
दिनदहाडै सांसद जस्तो गरिमामय पदमा बसेका व्यक्तिबाट प्रतिष्ठित व्यवसायीको घरमै पसेर भएको गुण्डागर्दी शैलीको आपराधिक क्रियाकलापले कृष्णनगरवासी त्रसित बनेका छन् भने स्थानीय प्रशासनको निरीहताप्रति गम्भीर प्रश्न उठेको छ ।
यस्तो भन्छन् पीडित शर्माः 'दिउँसो करिब २ बजे शुरूमा आफ्नो निवासमा दुई जना अपरिचित व्यक्ति आई ओए रितेश, तँलाई शाह भवनमा बोलाउनु भएको छ, हिँड भने । मैले किन हो ? के कारणले बोलाइएको हो ? भनी सोध्दा उनीहरुले जाछस् कि जाँदैनस्,नत्र जबरजस्ती लैजान्छौँ भनी धम्की दिए ।
केही समयपछि अभिषेक प्रताप शाह एक समूह लिएर मेरो घरमा आई तँ गुण्डा पल्टेछस् लगायतका अभिव्यक्ति तथा अपमानजनक शब्द प्रयोग गरी गालीगलौज गरे । उनी मेरो घर भित्र गैरकानूनी प्रवेश गरी घरको सिसा तथा अन्य संरचना तोडफोड गर्दै म माथि कुटपिट तथा आपराधिक बल प्रयोग मेरो ज्यान लिने गरी म माथि आक्रमण गरिएको हो ।
सोही क्रममा नगरप्रमुख रजत प्रताप शाह आफ्नो साथमा अन्य व्यक्तिहरु सहित आएर अभद्र तथा अपमानजनक शब्द प्रयोग गरी गालीगलौज गर्दै प्रवेश गरी घरको सिसा तथा अन्य संरचनामा तोडफोड गर्दै म माथि निर्घात कुटपिट तथा आपराधिक बल प्रयोग गरेका हुन् ।
ज्यान लिने सम्मको आक्रमणमा सांसद अभिषेक प्रताप शाह, वैभव प्रताप शाह, निर्भय सिंह, बिक्की यादव, बिक्की मिश्र, दिपेन्द्र चौधरी उर्फ 'बब्बु', राकेश मणि त्रिपाठी उर्फ 'मुसे', अजय उपाध्याय उर्फ 'अजय बाबा' लगायत अन्य अपरिचित व्यक्तिहरुको संलग्नता रहेको थियो ।'