उच्च सतर्कता अपनाउन विपद् प्राधिकरणको 'एड्भाइजरी' [भिडियो]
मनसुन जोखिमबारे अद्यावधिक विवरण संकलन
हाम्रा कुरा
प्रकाशित २०८३ असार २८ आइतबार
281
Shares
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपद्को जोखिम न्यूनीकरणका लागि सबै सरोकारवाला निकायहरूसँगको समन्वयलाई तीव्र बनाएको छ। प्राधिकरणको आइतबार बसेको बैठकले मनसुनजन्य विपद्को पूर्वतयारी र सरोकारवाला निकायहरूले गरेका कामको प्रगति समीक्षा गर्दै अद्यावधिक विवरण सङ्कलन गरेको हो।
प्राधिकरणका कार्यकारी प्रमुख एवं सहसचिव प्रदीपकुमार कोइरालाले मनसुन अवधिमा जनधनको क्षति न्यूनीकरणका लागि सरकार पूर्ण तयारी अवस्थामा रहेको जानकारी दिए। असार ४ गते गृहमन्त्री सुधन गुरुङको संयोजकत्वमा बसेको बैठकले दिएका निर्देशनहरूको कार्यान्वयन अवस्था बुझ्न आइतबारको बैठक आयोजना गरिएको उनले बताए। बैठकमा सबै क्लस्टरका लिडर, को-लिडर, सडक तथा सिँचाइ लगायतका विभागीय प्रमुख एवं विपद् सम्पर्क व्यक्तिहरूलाई बोलाएर प्रगति विवरण सङ्कलन गरिएको छ, जुन प्रतिवेदन गृहमन्त्रीसमक्ष पेस गरिनेछ।
हाल देशभर मनसुन सक्रिय रहेकाले जल तथा मौसम विज्ञान विभागले जारी गर्ने विशेष बुलेटिनका आधारमा प्राधिकरणले नियमित रूपमा ‘एड्भाइजरी’ (सतर्कता सूचना) जारी गरिरहेको छ। कार्यकारी प्रमुख कोइरालाका अनुसार आइतबार राति र सोमबार पूर्वी क्षेत्र तथा मधेश प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गर्दै विशेष एड्भाइजरी जारी गरिएको छ।
"असार ५ गतेदेखि मनसुन भित्रिएसँगै हामी पूर्ण रूपमा तयारीमा जुटेका छौँ," कोइरालाले भने, "मौसम विज्ञान विभागको विशेष बुलेटिन र प्राधिकरणले जारी गर्ने एड्भाइजरीलाई नागरिकले नियमित रूपमा ध्यान दिएर सोहीअनुसार सतर्कता अपनाएमा जनधनको क्षति न्यूनीकरण गर्न ठूलो सहयोग पुग्नेछ।" प्राधिकरणले मनसुन अवधिभर जोखिमको अवस्था मूल्याङ्कन गरी निरन्तर आवश्यक सूचना र सतर्कता जारी राखिने जनाएको छ।