बालेन सरकार बनेयता नेप्से ३५० अंकले घट्यो, परिसूचक छ महिनाकै न्यून बिन्दुमा
हाम्रा कुरा
प्रकाशित २०८३ असार २८ आइतबार
280
Shares
काठमाडौँ । नेपालको शेयर बजार पछिल्लो समय निरन्तर ओरालो लाग्ने क्रममा रहेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६०० को बिन्दुमा झरेसँगै बजार छ महिनायताकै न्यून स्तरमा पुगेको हो। नयाँ सरकारको गठन र नयाँ नीतिहरूको घोषणा भए पनि लगानीकर्ताहरूमा उत्साह देखिनुको सट्टा निराशा छाएको तथ्यांकले देखाउँछ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता वालेन्द्र साह बालेनको नेतृत्वमा सरकार बनेपछि शेयर बजार बढ्ने आशा गरिएको थियो। गत फागुन २१ गते भएको निर्वाचन अगाडि रास्वपाले आफ्नो वाचा पत्रमा समेत शेयर बजारमैत्री नीतिहरूको घोषणा गरेको थियो। तर सरकार बनेको भोलिपल्टै देखि शेयर बजार भने घट्न सुरु भएको थियो। बालेन सरकारले शपथ ग्रहण गर्नुभन्दा ठीक अघिल्लो दिन अर्थात् चैत १२ गते नेप्से परिसूचक २९५०.१६ बिन्दुको उच्च स्थानमा अडिएको थियो। तर आजको दिनसम्म आइपुग्दा भने नेप्से परिसूचक २ हजार ६ सयको बिन्दुमा आएको छ। यसरी हेर्दा बालेन सरकार आएयता मात्र समग्रमा ३ सय ५० अंकको ठूलो गिरावट आएको छ।
नेप्से परिसूचक २६०० बिन्दुमा आएसँगै छ महिनायताकै न्यून बिन्दुमा नेप्से आएको छ। यसअघि गत पुस ९ गते २५९७ बिन्दुमा बन्द भएको बजार त्यसयता भने शुक्रवार २६०० बिन्दुमा ओर्लिएको हो। यो छ महिनाको अवधिमा नेप्से परिसूचक उच्चतम २ हजार ९ सय ७० (चैत ११ गते) पुगेको थियो, तर त्यसयता बजार लगभग निरन्तर जस्तो घट्दो क्रममा नै रहेको छ।
नेप्सेमा भएको कारोबारको ट्रेन्डलाई हेर्ने हो भने बजेटपछि नै शेयर बजार घटेको देखिन्छ। लगानीकर्ताले लामो समयदेखि माग गरेको पुँजीगत लाभकर नै अन्तिम कर हुनुपर्ने विषयलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३–८४ को बजेटमा कानुनी रूपमै व्यवस्था गरिदिएका थिए। बजेटमा वाग्लेले शेयर बजारको सुधारका लागि भन्दै एनआरएन भित्र्याउनेदेखि नेप्सेको पुनर्संरचना गर्नेसहित १० वटा नीतिहरू लिएका थिए। तर बजारमा भने त्यसको खासै सकारात्मक असर देखिएन।
अर्थमन्त्री वाग्लेले आगामी वर्षका लागि बजेट प्रस्तुत गर्नुअगाडि जेठ १३ गते नेप्से ५ अंकले बढेर २७८२ बिन्दुमा बन्द भएको थियो। जेठ १५ गते बजेट प्रस्तुत भएपछिको पहिलो कारोबार दिन नै नेप्से २६.७२ अंकले घटेर २ हजार ७ सय ५५ बिन्दुमा आयो। बजेट आएयता मात्रै पनि नेप्से ८६ अंकले घटेको छ। नेपाल शेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डेका अनुसार बजेटमा राम्रो नीति आए पनि बजारमा भएका केही व्यवसायीहरूको पक्राउ र धरपकडले गर्दा ठूला लगानीकर्ताहरू आत्तिएर बजारमा अन्योलको स्थिति सिर्जना भएको हो।
बजेटपछि शेयर बजार नबढेपछि सबैको ध्यान राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिमा गएको थियो। तर मौद्रिक नीतिले पनि शेयर बजारका लागि खासै उत्साहजनक नीति लिएको देखिएन। नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले गत असार २३ गते इतिहासकै सबैभन्दा छोटो मौद्रिक नीति सार्वजनिक गरेका थिए। जसमा शेयर धितो कर्जामा राम्रो नेटवर्थ र वित्तीय अवस्था बलियो भएका कम्पनीहरूको शेयर धितो राखेर मात्र बढी कर्जा पाइने खालको नीति आयो।
मौद्रिक नीति आउनु अघिल्लो दिन नेप्से २ हजार ६ सय ५१ बिन्दुमा पुगेको भए पनि नीति आएयताका ३ दिन नै बजार लगातार घटेर ५१ अंक गुमाउँदै २६०० को बिन्दुमा आइपुगेको छ। नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर चिरञ्जीवी नेपाल भन्छन्, "हाम्रो शेयर बजारमा ७० प्रतिशत हिस्सा बैंक तथा वित्तीय संस्थाको छ। राष्ट्र बैंकले कम्पनीको अवस्था हेरेर मात्र कर्जा विस्तार गर्ने नीति लिएकाले लगानीकर्ताले नराम्रो कम्पनीको शेयर राखेर कर्जा नपाउने अवस्था आयो, जसको प्रभाव बजारमा देखियो।"
त्यस्तै पाही इन्भेष्टमेन्ट प्रालि (ब्रोकर नम्बर ७९) का प्रमुख कार्यकारी अधिकृत (सिइओ) कमल धितालका अनुसार मौद्रिक नीतिमा शेयर बजारका लागि खासै नयाँ कुरा नआएकाले अब लगानीकर्ताहरू धितोपत्र बोर्ड (सेबोन) तिर हेरेर बसेका छन्। यता शेयरधनी संघका अध्यक्ष पाण्डे भने मौद्रिक नीति मात्र नभई असार मसान्तको क्लोजिङ प्रेसर, ब्रोकरहरूको सेटलमेन्ट ताकेता र २६०० को विन्दुमा पुगेपछि लगानीकर्ताले गर्न थालेको 'स्टप लस' का कारण बजारमा थप दबाब सिर्जना भएको बताउँछन्।