arrow

सुकुमवासीमाथि सरकारी दमनको विरोध

गरिबलाई जिस्क्याए सरकारको आयु लामो छैन [भिडियो]

सुकुमवासी यहाँ छ, रवि–बालेन कहाँ छ भन्दै माइतीघरमा प्रदर्शन

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २८ आइतबार
sukumbasi-s-basti.jpg

काठमाडौँ । होल्डिङ सेन्टरमा राखिएका सुकुमवासीहरूमाथि सरकारले बर्बर दमन र धरपकड गरेको भन्दै आइतबार काठमाडौँको माइतीघर मण्डलामा तीव्र विरोध प्रदर्शन गरिएको छ। संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चा, नेपालको अगुवाइमा विभिन्न सुकुमवासी अभियन्ता, संघ-संगठन तथा ‘जेन-जी मुभमेन्ट’ आबद्ध युवाहरूको सहभागितामा सो प्रदर्शन भएको हो।

होल्डिङ सेन्टरभित्रको कष्टकर पीडा सहन नसकेर विरोधमा उत्रिएका सुकुमवासीहरूलाई सरकारले नियन्त्रणमा लिएपछि मोर्चाले आन्दोलनको बाटो रोजेको हो। प्रदर्शनका क्रममा सञ्चारकर्मीहरूसँग बोल्दै संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चा, नेपालका कार्यवाहक अध्यक्ष नारायण परिश्रमीले पञ्चायत कालमा समेत गरिबहरूमाथि यस्तो बर्बर दमन नभएको भन्दै आक्रोश व्यक्त गरे।

कार्यवाहक अध्यक्ष परिश्रमीले सरकारलाई कडा चेतावनी दिँदै भने, "सरकारले कम्मर-कम्मरसम्म बाढी आउने ठाउँमा राखेर हाम्रो ज्यान जोखिममा पारेको छ, के यही हो सरकारको व्यवस्थापन? गरिबहरूसँग डराउने यो नामर्द र कायर सरकार हो। सक्छौ भने व्यवस्थित पुनर्स्थापना गर, सक्दैनौ भने हामी आफ्नै पुरानो थाँतथलोमा फर्किन्छौँ। अब देशका ७० लाख सुकुमवासीहरू चुप लागेर बस्ने छैनन्, हामी देशव्यापी आन्दोलन चर्काउँछौँ। गरिबलाई जिस्क्याइस् भने यो सरकारको आयु धेरै लामो हुने छैन।"

प्रदर्शनका क्रममा आन्दोलनकारीहरूले सरकारको दमनकारी नीति र गैरन्यायिक पक्राउ विरुद्ध चर्का नाराबाजी गरेका थिए। उनीहरूले हात-हातमा प्लेकार्ड बोकेर "सुकुमवासीमाथिको अन्याय अन्त्य गर", "जनताको आवाज दबाउन पाइँदैन", "गरिबमारा सरकार–मुर्दावाद" जस्ता नारा लगाएका थिए। प्रदर्शनकारीहरूले वर्तमान राजनीतिक नेतृत्वप्रति लक्षित गर्दै "सुकुमवासी यहाँ छ, रवि–बालेन कहाँ छ?" भन्दै गृहमन्त्री र काठमाडौँका मेयरमाथि समेत प्रश्न उठाएका छन्। मोर्चाले आफ्ना मागहरू तत्काल सम्बोधन नभए आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ