arrow

विमानस्थलबाट दुर्गा प्रसाईँ प्रहरीको नियन्त्रणमा, पक्राउ परेको भनाइको खण्डन

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २८ आइतबार
durga-prasains.jpg

काठमाडौँ । राजावादी अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई झापाबाट काठमाडौँ फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएको छ। विमानस्थलबाट नियन्त्रणमा लिइएका प्रसाईँलाई प्रहरीले भक्तपुरस्थित उनकै निवासमा पुर्‍याएर छाडेको छ।

आइतबार झापाबाट काठमाडौँ ओर्लिएपछि प्रसाईँले विमानस्थल परिसरबाटै सुकुमवासी समस्या, आत्मदाहका घटना, गरिब तथा पीडित नागरिकको अवस्था लगायतका समसामयिक राष्ट्रिय विषयमा विशेष सम्बोधन गर्ने कार्यक्रम तय गरेका थिए। तर, उनी विमानस्थलमा ओर्लिनासाथ काठमाडौँ प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईको टोलीले उनलाई आफ्नो नियन्त्रणमा लिएको थियो।

यस घटनालगत्तै केही अनलाइन सञ्चारमाध्यमहरूले दुर्गा प्रसाईँ पक्राउ परेको भन्दै समाचार सम्प्रेषण गरेपछि प्रहरीले त्यसको कडा खण्डन गरेको छ। काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी भट्टराईले प्रसाईँलाई पक्राउ नगरिएको स्पष्ट पारे।

विमानस्थलजस्तो संवेदनशील र निषेधित क्षेत्रमा कुनै पनि प्रकारको विरोध कार्यक्रम वा प्रदर्शन गर्न नपाइने कानुनी व्यवस्था भएकाले सुरक्षा र व्यवस्थापनका लागि मात्र उनलाई नियन्त्रणमा लिएर घर पुर्‍याइएको प्रहरीको दाबी छ। एसपी भट्टराईले भने, ‘हामीले पक्राउ गरेको होइनौँ। उहाँले विमानस्थलजस्तो निषेधित क्षेत्रमा विरोधको कार्यक्रम गर्न लाग्नुभएको थियो। त्यसैले हामीले उहाँलाई घर छोडेर आएका हौँ। यो केवल सुरक्षा सहजीकरण मात्र हो।’

प्रहरीले विमानस्थलको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सम्भावित भिडभाड वा आन्दोलन रोक्नका लागि प्रसाईँलाई त्यहाँबाट हटाइएको जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ