arrow

पर्यटक सुरक्षामा प्रहरीको छड्के, पाराग्लाइडिङ पाइलटमाथि ‘मापसे’ र ‘लापसे’ परीक्षण [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २८ आइतबार
paragliding-pokhara.jpg

पोखरा । पोखराको प्रमुख पर्यटकीय आकर्षण पाराग्लाइडिङलाई थप सुरक्षित, व्यवस्थित र विश्वसनीय बनाउन प्रहरीले पाइलटमाथि मादक पदार्थ (मापसे) तथा लागुपदार्थ (लापसे) सेवन परीक्षण शुरू गरेको छ।

पर्यटकको सुरक्षालाई प्राथमिकतामा राख्दै प्रहरीले सराङकोटस्थित तोरीपानी पुगेर उडानको तयारीमा रहेका पाइलटमाथि आकस्मिक स्वास्थ्य परीक्षण गरेको हो।

भारतीय पर्यटकको चाप बढिरहेका बेला केही पाइलटले नशालु पदार्थ सेवन गरेर उडान भर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) नमराज भट्टराईको नेतृत्वमा सामुदायिक सेवा केन्द्र कास्कीको टोलीले ३५ जना पाइलटको मापसे तथा लापसे परीक्षण गरेको हो।

डीएसपी भट्टराईले उडानका क्रममा हुन सक्ने मानवीय त्रुटी र सम्भावित दुर्घटना रोक्न तथा पर्यटकको सुरक्षालाई सुनिश्चित गर्न यस्तो अनुगमन सुरु गरिएको बताए।

पोखराको मौसम छिनछिनमै परिवर्तन हुने भएकाले पाइलटले अझ बढी जिम्मेवारी र सावधानी अपनाउनुपर्नेमा उनले जोड दिए। सुरक्षित साहसिक पर्यटन गन्तव्यका रूपमा पोखराको छवि कायम राख्न यस्ता अनुगमनलाई निरन्तरता दिइने पनि उनले बताए।

नेपाल नागरिक उड्डयन प्राधिकरणले समय-समयमा सुरक्षा अनुगमन गर्दै आए पनि प्रहरीले प्रत्यक्ष रूपमा मापसे तथा लापसे परीक्षण थालेपछि सुरक्षा व्यवस्थामा थप कडाइ भएको सरोकारवालाको भनाइ छ।

विगत २५ वर्षमा टेन्डम पाराग्लाइडिङका क्रममा दुईटा दुर्घटना भइसकेकाले सुरक्षा सतर्कता अझ आवश्यक भएको उनीहरूको भनाइ छ।

पाराग्लाइडिङ पाइलट रञ्जित गौतमका अनुसार अहिले दैनिक ५०० भन्दा बढी पर्यटक प्याराग्लाइडिङका लागि आउने गरेका छन्।

अपसिजनमै भारतीय र बंगलादेशी पर्यटकको आगमन बढेकाले पर्यटन क्षेत्रको प्रतिष्ठा जोगाउन सबै पाइलटले सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्नुपर्ने उनले बताए। हाल सात हजार पाँच सय रुपैयाँमा फोटो र भिडियोसहित प्याराग्लाइडिङ सेवा उपलब्ध रहेको पनि उनले जानकारी दिए।

सामुदायिक सेवा केन्द्र कास्कीका अध्यक्ष भीम पराजुलीले पाराग्लाइडिङ क्षेत्रमा हुने सानो लापरबाहीले समग्र पोखराको पर्यटन क्षेत्रमा नकारात्मक असर पार्न सक्ने भएकाले नियमित छड्के अनुगमन आवश्यक रहेको बताए।

पाइलटलाई थप जिम्मेवार बनाउन र सुरक्षा मापदण्डको पूर्ण पालना गराउन सम्बन्धित निकायले नियमनलाई अझ प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए।

साहसिक पर्यटनको विश्वसनीयता कायम राख्न यस्ता आकस्मिक जाँचलाई नियमित बनाउँदै सम्भावित दुर्घटना न्यूनीकरणतर्फ सबै पक्ष गम्भीर हुनुपर्ने सरोकारवालाले बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ