काठमाडौँ । सङ्घीय सरकारको एघार करोड १९ लाख रुपैयाँको लागतमा डुम्रे–बेँसीसहर सडकअन्तर्गत उदिपुर क्षेत्रमा पहिरो नियन्त्रणका स्थायी संरचनाहरू निर्माण गरिएपछि यस वर्षको बर्खायाममा पनि सवारी आवागमन सुरक्षित र सहज भएको छ।
डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयका सूचना अधिकारी नवीन विष्टका अनुसार मस्र्याङ्दी नदीमा माइक्रो पाइल हाल्ने, नदी किनारमा बलियो संरक्षण पर्खाल ठड्याउने, ४५ मिटर अग्लो र ८० मिटर लामो ग्याबिन जाली भर्ने, ३०० मिटर सडक कालोपत्र गर्ने तथा सडकमाथिको पहिरो प्रभावित क्षेत्रमा नेलिङ प्रविधिमार्फत पहाडलाई बाँध्ने जस्ता महत्त्वपूर्ण संरचनाहरू निर्माण गरिएका छन्।
यसअघि उदिपुर क्षेत्रमा पहिरो नियन्त्रण नहुँदा हरेक दिनजसो मुख्य सडक बन्द भई सवारीसाधनहरू सास्ती खेप्दै वैकल्पिक बाटोबाट गन्तव्यतर्फ जान बाध्य हुन्थे। स्थानीय बासिन्दा बाबुलाल श्रेष्ठले गत वर्षको बर्खामा कतिबेला माथिबाट ढुङ्गा खस्छ भन्ने डर सधैँ रहने गरेको स्मरण गर्दै अहिले निर्धक्क भएर यात्रा गर्न पाइएकोमा खुसी व्यक्त गरे।
सोही सडकमा नियमित रूपमा गाडी चलाउँदै आएका चालक नारायण घिमिरेले पनि उदिपुर क्षेत्रमा सडक सुरक्षित बनेपछि ढुक्कसँग सवारी सञ्चालन गर्न पाएको बताए।
डुम्रे–बेँसीसहर सडकखण्ड लमजुङको मात्र नभई हिमाली जिल्ला मनाङलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने मुख्य लाइफलाइन हो। विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्ग समेत यसै सडकसँग जोडिएकाले यहाँ पहिरो नियन्त्रण हुनुले आन्तरिक तथा बाह्य पर्यटन र स्थानीय जनजीवनमा ठूलो राहत पुर्याएको छ।