मानव सेवा आश्रमलाई ‘श्रीपति समाज सेवा पुरस्कार-२०८३’ प्रदान गरिने
हाम्रा कुरा
प्रकाशित २०८३ असार २७ शनिबार
287
Shares
पोखरा । यस वर्षको ‘श्रीपति समाज सेवा पुरस्कार-२०८३’ मानव सेवा आश्रमलाई प्रदान गरिने भएको छ। श्रीपति कोइराला गुठीले शुक्रबार पोखरामा आयोजित घोषणा कार्यक्रममा नेपालभर समाजसेवामार्फत उल्लेखनीय योगदान पुर्याएको भन्दै मानव सेवा आश्रमलाई पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो।
गुठीका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता फणीन्द्रराज कोइरालाले श्रीपति समाज सेवा पुरस्कार छनोट समितिको सिफारिसका आधारमा मानव सेवा आश्रमलाई यस वर्षको पुरस्कारका लागि छनोट गरिएको जानकारी दिए।
पुरस्कारअन्तर्गत नगद दुई लाख २२ हजार २२२ रुपैयाँ, समाज सेवा पदक र सम्मानपत्र प्रदान गरिनेछ। पुरस्कार गुठीको आगामी साधारणसभाको विशेष समारोहमा हस्तान्तरण गरिने जनाइएको छ।
घोषणा कार्यक्रममा कोइराला सेवा समाजका केन्द्रीय अध्यक्ष कृष्णमुरारी कोइराला तथा महर्षि मुद्गल प्रतिष्ठानका केन्द्रीय अध्यक्ष श्रीप्रसाद कोइरालालगायत सहभागी थिए।
अध्यक्ष कोइरालाले करिब २१९ वर्षअघि जन्मिएका समाजसेवी श्रीपति कोईरालाको योगदान स्मरण गर्दै उनले पोखरा र पर्वत क्षेत्रमा मन्दिर, पाटीपौवा, चौतारा निर्माण तथा धर्म, शिक्षा र मानवसेवामा पुर्याएको योगदानको चर्चा गरे।
उनले श्रीपति कोईरालाको स्मृति, समाजसेवाको आदर्श र मानवकल्याणको अभियानलाई जीवित राख्ने उद्देश्यले पुरस्कार, छात्रवृत्ति तथा विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको बताए।
मानव सेवा आश्रमले सडकपेटी, सार्वजनिक स्थल तथा खुला आकाशमुनि कष्टपूर्ण जीवन बिताइरहेका सहयोगापेक्षी, बेसहारा, अशक्त तथा अभिभावकविहीन व्यक्तिहरूको उद्धार, उपचार, पालनपोषण, संरक्षण र पारिवारिक पुनर्मिलनमा पुर्याएको योगदानको सम्मानस्वरूप पुरस्कार प्रदान गर्न लागिएको गुठीले जनाएको छ।
यसअघि मैती नेपाल, राष्ट्रिय आविष्कार केन्द्र, पद्म भुवनेश्वरी नमुना सेवाश्रम, विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति तथा तिलगंगा आँखा प्रतिष्ठानका निर्देशक डा. सन्दुक रुइत यो पुरस्कारबाट सम्मानित भइसकेका छन्।