वर्षायामसँगै अन्नपूर्ण पदमार्गमा पर्यटक घटे, सुस्तायो व्यवसाय
हाम्रा कुरा
प्रकाशित २०८३ असार २६ शुक्रबार
227
Shares
लमजुङ। वर्षायाम शुरू भएसँगै विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकको आगमन उल्लेखनीय रूपमा घटेको छ। पर्यटकीय याममा दैनिक पाँच सयदेखि छ सय जनासम्म पर्यटक आउने यस पदमार्गमा अहिले दैनिक पाँचदेखि १५ जनामात्र आउने गरेका छन्।
धारापानीस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्रका इन्चार्ज भूपेन्द्र गुरुङका अनुसार वर्षायाम शुरू भएसँगै पर्यटकको सङ्ख्या ह्वात्तै घटेको हो।
उनका अनुसार पर्यटकीय यामको अन्त्यतिर पनि दैनिक ५०-० जनासम्म पर्यटक आउने गरेका थिए। तर असार लागेपछि कुनै दिन एक-दुई जना त कुनै दिन १०-१५ जनामात्रै पर्यटक आउने गरेका छन्।
एक्यापका अनुसार चालु आर्थिक वर्षको साउन १ गतेदेखि असार २५ गतेसम्म अन्नपूर्ण पदमार्गमा ४० हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन्। यो सङ्ख्या अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब एक हजार पाँच सयले बढी हो।
यद्यपि वर्षायाम शुरू भएसँगै पर्यटक आगमनमा तीव्र गिरावट आएको छ। गत जेठमा दुई हजार सात सय ७५ जना पर्यटक पदमार्गमा आएका थिए भने असार २५ गतेसम्म जम्मा आठ सय जना मात्रै आएका छन्।
पर्यटकको आगमन घटेसँगै पदमार्ग आसपासका पर्यटन व्यवसायमा पनि प्रत्यक्ष असर परेको छ। मर्स्याङ्दी गाउँपालिका-४ जगतका होटल व्यवसायी पञ्चबहादुर गुरुङले पर्यटकीय याममा महिनाको ५० देखि ६० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको भए पनि अहिले त्यसको एकतिहाइ बराबर कमाइसमेत हुन नसकेको बताए।
उनले भने, "पहिले व्यापार धान्नै मुस्किल हुन्थ्यो, अहिले भने फुर्सदै फुर्सद छ। पर्यटक आउँछन्, फोटो खिच्छन् र फर्किन्छन्। आम्दानी निकै घटेको छ।"
पर्यटन व्यवसायबाट जीविकोपार्जन गर्ने होटल, लज, रेष्टुरेन्ट, भरिया, पथप्रदर्शक तथा यातायात व्यवसायीहरू याममा भएको आम्दानीकै भरमा अहिलेको समय धान्न बाध्य भएको व्यवसायीहरूको भनाइ छ।
बुङ झरना नजिक होटल सञ्चालन गरिरहेका खुसबहादुर तामाङका अनुसार वर्षायाममा सडकको अवस्था बिग्रिने, बाढीपहिरोको जोखिम बढ्ने तथा यात्रा असहज हुने भएकाले विदेशी पर्यटकले पदयात्रा गर्न रुचाउँदैनन्। उनले भने, "सडक सुरक्षित हुँदा समूह-समूहमा पर्यटक आइरहन्थे। अहिले वर्षाका कारण जोखिम बढेपछि पर्यटक आउन डराउने अवस्था छ।"
बेँसीसहर-चामे सडकमा वर्षायाममा बाढीपहिरोको जोखिम उच्च रहने भएकाले अन्नपूर्ण पदमार्गको यात्रा चुनौतीपूर्ण हुने गरेको छ।
सडक डिभिजन कार्यालय लमजुङका सूचना अधिकारी नवीन विस्तारका अनुसार असारदेखि असोजको पहिलो सातासम्म सडकमा बाढीपहिरोको जोखिम बढी रहने भएकाले विभिन्न स्थानमा उपकरणसहित जनशक्ति तयारी अवस्थामा राखिएको छ।
उgका अनुसार सामान्य अवस्थामा सडक सञ्चालन भइरहे पनि लगातार वर्षा वा ठूलो पहिरो खसेमा यात्रा प्रभावित हुन सक्छ।
विश्वकै उत्कृष्ट पदमार्गमध्ये एक मानिने अन्नपूर्ण पदमार्ग हुँदै पर्यटकहरूले लमजुङ, मनाङ, कास्की, मुस्ताङ र म्याग्दीका प्राकृतिक तथा सांस्कृतिक सम्पदाको अवलोकन गर्ने गर्छन्।
यस पदमार्गको प्रवेशद्वार लमजुङको बेँसीसहर हो। पर्यटन व्यवसायीहरूले वर्षायाम समाप्त भई मौसममा सुधार आएपछि पर्यटक आगमन पुनः पुरानै लयमा फर्किने अपेक्षा गरेका छन्।रासस