arrow

गणेश नेपाली प्रकरणलाई राजनीतिक आरोप-प्रत्यारोपको विषय नबनाऔँ : गगन थापा

अहिलेको अवस्था राजनीतिक बहस, दोषारोपण वा आरोप-प्रत्यारोप गर्ने समय नभएको उल्लेख गर्दै सबैलाई मानवीय संवेदनासहित गणेश नेपालीका आश्रित परिवारलाई साथ दिन आह्वान

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २६ शुक्रबार
gagan-thapa-22-02.jpg

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले गणेश नेपालीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै यो घटनालाई राजनीतिक आरोप-प्रत्यारोपको विषय नबनाउन आग्रह गरेका छन्।

उनले गणेश नेपालीको घटनाले समाज, राज्य र सामूहिक चेतनालाई गम्भीर रूपमा झस्काएको उल्लेख गर्दै अहिलेको आवश्यकता शोकसन्तप्त परिवारको साथमा उभिनु र यस्ता घटना दोहोरिन नदिने गरी आत्मचिन्तन गर्नु रहेको बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै थापाले स्वर्गीय गणेश नेपालीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। उनले यो असह्य पीडा सहने शक्ति परिवारलाई प्राप्त होस् भन्ने कामना पनि गरेका छन्।

थापाले अहिलेको अवस्था राजनीतिक बहस, दोषारोपण वा आरोप-प्रत्यारोप गर्ने समय नभएको उल्लेख गर्दै सबैलाई मानवीय संवेदनासहित गणेश नेपालीका आश्रित परिवारलाई साथ दिन आह्वान गरेका छन्। उनले आ-आफ्नो ठाउँबाट परिवारको पीडामा मल्हम लगाउने प्रयास गर्न सबैलाई आग्रह गरेका छन्।

थापाले घटनालाई राज्य सञ्चालनसँग जोडिएको सामूहिक आत्मचिन्तनको विषयका रूपमा लिनुपर्ने धारणा राख्दै केही गम्भीर प्रश्नसमेत उठाएका छन्।

एउटा युवा किन यति निराशाको अवस्थामा पुग्छ? आफ्ना पीडा सुनाउन किन प्रभावकारी माध्यम भेट्दैन? राज्यका सेवा र संयन्त्रले नागरिकलाई आड, भरोसा र विश्वास दिनुपर्ने ठाउँमा किन कतिपय नागरिकले आफूलाई असहाय महसुस गर्छन् भन्ने प्रश्नको इमानदार उत्तर खोज्नुपर्ने उनको भनाइ छ।

भविष्यमा कुनै पनि नागरिकले यस्तो निराशाको बाटो रोज्न नपर्ने वातावरण निर्माण गर्नु नै गणेश नेपालीप्रतिको साँचो श्रद्धाञ्जली हुने थापाको धारणा छ।

थापाको स्टाटस् 

गणेश नेपालीको घटनाले स्तब्ध बनाएको छ।

यो घटना समाज, राज्य र हाम्रो सामूहिक चेतनालाई झस्काउने अत्यन्तै पीडादायी क्षण हो।

यस कठिन घडीमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु। उहाँहरूलाई यो असह्य पीडा सहने शक्ति प्राप्त होस् भन्ने कामना गर्दछु।

यससँगै सबैमा एउटा विनम्र अनुरोध छ।

यो कुनै राजनीतिक बहस वा दोषारोपणको विषय होइन। यो एउटा नागरिकको जीवन, एउटा परिवारको असह्य पीडा र हाम्रो मानवीय संवेदनासँग जोडिएको विषय हो।

यस कठिन घडीमा गणेशजीका आश्रित परिवारलाई कसरी साथ दिन सकिन्छ, कसरी उनीहरूको दुःखमा केही भए पनि मल्हम लगाउन सकिन्छ भन्नेबारे आ–आफ्नो ठाउँबाट सोचौँ र सक्दो सहयोग गरौँ।

विगत र वर्तमान कसको दोष भन्ने बहसभन्दा पनि यस्ता घटनालाई राज्य सञ्चालनसँग जोडिएको हाम्रो सामूहिक आत्मचिन्तनको विषय बनाऔँ।

हामीले आफैँसँग केही कठिन प्रश्न सोध्नैपर्छ। एउटा युवा किन यस्तो निराशाको बिन्दुसम्म पुग्छ? आफ्ना पीडा सुनाउन आफ्नै शरीरमा आगो लगाउनुपर्ने अवस्था किन सिर्जना हुन्छ? राज्यका सेवा र संयन्त्रले नागरिकलाई आड, साथ र भरोसाको अनुभूति गराउनुपर्ने हो, तर किन कतिपय नागरिक राज्यकै सामु आफूलाई यति असहाय महसुस गर्छन्? समाज, परिवार, राज्य र हामी नागरिकका रूपमा कहाँ चुक्यौँ?

यी प्रश्नहरूको इमानदार उत्तर खोज्नु र भविष्यमा कुनै पनि नागरिकले यस्तो बाटो रोज्न नपर्ने वातावरण निर्माण गर्नु नै गणेश नेपालीप्रतिको साँचो श्रद्धाञ्जली हुनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ