प्रधानमन्त्री साहले उद्योगी तथा व्यवसायीहरूसँग संवाद गर्दै
हाम्रा कुरा
प्रकाशित २०८३ असार २४ बुधबार
298
Shares
काठमाडौँ । देशको शिथिल अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको खस्कँदो आत्मविश्वास बढाउने उद्देश्यका साथ प्रधानमन्त्री वालेन्द्र साहले उद्योगी तथा व्यवसायीहरूसँग आज बुधबार विशेष संवाद गर्दैछन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहान ११:३० बजे आयोजना हुने यस उच्चस्तरीय बैठकमा मुलुकको वर्तमान आर्थिक परिदृश्य, लगानीमैत्री वातावरण निर्माण र सरकार–निजी क्षेत्रबीचको आगामी सहकार्यका एजेन्डाहरूमा केन्द्रित रहेर छलफल हुने तय भएको छ। प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार वर्तमान बजारका चुनौतीहरूलाई सम्बोधन गर्न यो बैठक डाकिएको हो।
यस महत्त्वपूर्ण बैठकमा निजी क्षेत्रको नेतृत्व गर्दै देशका प्रमुख तीनवटा छाता सङ्गठनका शीर्ष पदाधिकारीहरू सहभागी हुँदैछन्। बैठकमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अन्जन श्रेष्ठ र महासङ्घकै उद्योग समितिका सभापति उज्ज्वलकुमार श्रेष्ठले उद्योगीहरूको प्रतिनिधित्व गर्नेछन्।
त्यस्तै नेपाल उद्योग परिसङ्घका तर्फबाट निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवाल र महानिर्देशक डा. घनश्याम ओझा तथा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल र वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा संवादमा सहभागी हुने कार्यक्रम छ।
प्रधानमन्त्री शाहले नयाँ सरकारको कार्यभार सम्हालेपछि निजी क्षेत्रका यी प्रमुख व्यावसायिक छाता सङ्गठनका नेतृत्वसँग सामूहिक रूपमा औपचारिक संवाद गर्न लागेको यो पहिलोपटक हो।
पछिल्लो समय बजारमा माग घट्दा र लगानीको वातावरण कसिलो हुँदा व्यवसायीहरूको मनोबल खस्किएका बेला प्रधानमन्त्री आफैँले अग्रसरता लिएर गर्न लागेको यो छलफललाई अर्थतन्त्र सुधारका लागि निकै चासो र महत्त्वका साथ हेरिएको छ।