arrow

सडक होइन मृत्यु मार्ग बने कर्णालीका बाटा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २२ सोमबार
basana-thapa-22-03.jpg

काठमाडौँ। नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले कर्णालीमा भएको बस दुर्घटनालाई सामान्य दुर्घटना नभई राज्यको चरम बेवास्ता र कर्णालीमाथिको खेलवाडको परिणाम भएको बताएकी छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले कर्णाली बस दुर्घटनाले सिंगो कर्णाली र देशलाई स्तब्ध बनाएको उल्लेख गर्दै यति लामो समय बितिसक्दा पनि घटनाको यथार्थ विवरण सार्वजनिक हुन नसक्नु दुःखद भएको बताइन्।

उनले कर्णालीमा हुने यस्ता दुर्घटना नयाँ विषय नभएको भन्दै त्यहाँका सडक अहिले सडकभन्दा पनि ‘मृत्यु मार्ग’मा परिणत भएको टिप्पणी गरिन्।

थापाले, “कर्णालीको सडकमा दिनहुँजसो रगत बगिरहेको छ। ती सडक आज सडक रहेनन्, मृत्यु मार्गजस्ता देखिएका छन्। अब कहिलेसम्म कर्णालीले यस्तो नियति भोग्नुपर्ने हो? हरेक पटक यात्रा गर्दा मानिसहरूले ज्यान हत्केलामा राखेर हिँड्नुपर्ने यो कस्तो व्यवस्था हो?” भन्दै सरकारसँग प्रश्न गरिन्।

उनले कर्णालीवासी सुरक्षित यात्रा गर्ने आधारभूत अधिकारबाट समेत वञ्चित भएको बताउँदै राज्यले अब पनि गम्भीरता नदेखाए यस्ता दुःखद घटना दोहोरिइरहने चेतावनी दिइन्।

“के कर्णालीवासीले स्वर्ग देख्न मरेरै जानुपर्ने हो? के उनीहरूको निधारमा अकाल मृत्यु मात्रै लेखिएको छ? म यसलाई दुर्घटना भन्न तयार छैन। यो त राज्यको चरम बेवास्ता र कर्णालीमाथिको खेलवाड हो,” उनले भनिन्।

थापाले कर्णाली राजमार्गको तत्काल स्तरोन्नति, सडक सुरक्षाको प्रभावकारी व्यवस्था र यस्ता दुर्घटना दोहोरिन नदिन ठोस तथा दीर्घकालीन योजना कार्यान्वयन गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराइन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ