arrow

परराष्ट्र मन्त्रालयका एक सय दिन

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २१ आइतबार
foreign-affairs.jpg

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र साह नेतृत्वको वर्तमान सरकार गठन भएको एक सय दिन पुगेको अवसरमा परराष्ट्र मन्त्रालयले आफ्ना मुख्य उपलब्धिहरू सार्वजनिक गरेको छ। सुशासन र प्रविधिमैत्री सेवा प्रवाहलाई केन्द्रमा राखेर मन्त्रालयले यस अवधिमा कूटनीतिक सुधार र विदेशमा रहेका नेपालीहरूको हितमा महत्त्वपूर्ण सफलता हासिल गरेको जनाएको छ।

नेपालको इतिहासमै पहिलो पटक राजदूत नियुक्तिका लागि खुला दरखास्त आह्वान गरिएको छ, जसअन्तर्गत विभिन्न मुलुकका लागि नेपाली राजदूत पदका लागि करिब तीन हजार आवेदन प्राप्त भई आवश्यक छनोट कार्य अघि बढेको छ। मन्त्रालयले विदेशमा रहेका नेपालीलाई कन्सुलर सेवा सहज बनाउन ‘मोफा मित्र’ नामक नयाँ मोबाइल एप सञ्चालनमा ल्याएको छ भने अनलाइन कन्सुलर सेवालाई सबै जिल्ला र ५३७ स्थानीय तहसम्म विस्तार गरेको छ। आगामी असार २९ गतेदेखि राहदानी (पासपोर्ट) को नयाँ प्रणाली सुरु गर्न लागिएको र जुनसुकै जिल्लाबाट राहदानी आवेदन दिन सकिने व्यवस्थाका लागि हुलाक विभागसँग सम्झौता भइसकेको छ।

पोर्चुगलमा रहेका करिब दुई हजार नेपालीको सक्कल प्रहरी चारित्रिक प्रमाणपत्रमा कन्सुलर छाप कीर्ते पाइएर सिर्जना भएको समस्यालाई परराष्ट्रमन्त्री शिशिर खनाल र परराष्ट्र सचिव अमृतबहादुर राईको कूटनीतिक पहलमा समाधान गरिएको छ। त्यस्तै, दक्षिण पूर्वी एसियामा अनलाइन ठगी (स्क्यामिङ) मा परेका ८१९ जना नेपालीलाई उद्धार गरी स्वदेश फर्काइएको छ। पश्चिम एसियाको तनावग्रस्त क्षेत्रबाट १ हजार ४७ जना नेपालीलाई सकुशल फिर्ता ल्याउन मन्त्रालयमा २४ घण्टे आपत्कालीन प्रतिकार्य समूह गठन गरिएको छ। नेपालकै पहलमा युएईमा थुनामा रहेका १२८ जना र साउदी अरबमा रहेका ३३ जना नेपालीले क्षमादान पाएका छन् भने भारतीय बजारमा नेपाली चिया निर्यातमा देखिएको अवरोध पनि संवादमार्फत हटाइएको छ।

नेपालले अतिकम विकसित मुलुकबाट हुने भनिएको स्तरोन्नतिलाई तत्कालका लागि स्थगन गर्ने औपचारिक प्रक्रिया अघि बढाएको छ। यसअघि आगामी २४ नोभेम्बर २०२६ मा स्तरोन्नति हुने तय भए पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आर्थिक परिस्थितिलाई ध्यानमा राख्दै उक्त अवधि नोभेम्बर २०२९ सम्मका लागि पछाडि सार्न १३ मे २०२६ मा परराष्ट्रमन्त्री खनालले संयुक्त राष्ट्रसङ्घमा औपचारिक पत्राचार गरेका छन्। यसका साथै लामो समयदेखि सुल्झन बाँकी रहेका भूतपूर्व ब्रिटिस गोर्खाहरूका मागका सम्बन्धमा बेलायतका रक्षामन्त्री जोन हिलीसँग भर्चुअल बैठक गरी मन्त्रालयले पहल अघि बढाएको छ।

नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसङ्घले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा घोषणा गरेको छ। कूटनीतिक क्षेत्रमा अर्को ठूलो सफलताका रूपमा जर्मनीको हाइडलबर्ग विश्वविद्यालयमा रहेका नेपालका ८०० वर्ष पुराना ऐतिहासिक हस्तलिखित सामग्रीहरू नेपाल फर्काउने सम्झौतामा २४ अप्रिल २०२६ मा हस्ताक्षर भएको छ। यसै अवधिमा रोमानिया, नर्वे, स्विट्जरल्याण्ड, इजिप्ट र डेनमार्कसँग द्विपक्षीय परामर्श संयन्त्रका बैठकहरू सम्पन्न भएका छन्। मन्त्रालयले इतिहासमै पहिलो पटक परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानमार्फत इन्टर्नसिप फेलोसिपको सुरुआत गरेको छ, जसमा १ हजार २७८ आवेदकमध्येबाट २० जना अनुसन्धानकर्ता छनोट गरी कार्य अघि बढाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ