छिमेकीको प्रगतिबाट नेपालले अधिकतम लाभ लिनुपर्छ [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ असार २० शनिबार
251
Shares
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिन आचार्यले छिमेकी राष्ट्र चीनको विकास र समृद्धि नेपालका लागि अवसर भएको बताएका छन्।
‘चिनियाँ कम्युनिष्ट पार्टीको १०५ वर्षः ऐतिहासिक अनुभव र नेपालको विकास’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले विगत एक शताब्दीमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) ले चीनलाई संकटबाट समृद्धितर्फ डोर्याउन खेलेको भूमिका विश्वकै लागि उदाहरणीय रहेको बताए।
नेपाल र चीनबीचको सम्बन्ध केवल भौगोलिक सीमामा सीमित नभई कलाकार अरनिकोको समयदेखि नै सांस्कृतिक तथा भावनात्मक रूपमा गहिरो रहेको उनले बताए।
दुई देशबीचको सम्बन्ध पारिवारिक र प्रगाढ रहेको उल्लेख गर्दै उनले आगामी दिनमा रास्वपा र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरे।
उनले भने, “एउटा सक्षम र समर्पित राजनीतिक दलले कसरी देशलाई प्रतिकूलताबाट समृद्धितर्फ लैजान सक्छ भन्ने उदाहरण चीनले प्रस्तुत गरेको छ। नयाँ दलका रूपमा रास्वपाले सीपीसीको सफल यात्राबाट धेरै कुरा सिक्न सक्छ। हाम्रा विचारधारा फरक होलान्, तर जनताको सेवा नै राजनीतिक दल र अन्ततः देशको प्रगतिको आधार हो भन्ने साझा मान्यतामा हामी एक छौँ। छिमेकी समृद्ध हुँदा त्यसको प्रत्यक्ष-परोक्ष लाभ हामीलाई पनि हुन्छ। समृद्ध छिमेकीबाट हामीले प्रविधि, पूर्वाधार विकास र जैविक प्रविधि (बायोटेक्नोलोजी) लगायतका क्षेत्रमा सहयोग र सहकार्यको अपेक्षा राखेका छौँ।”
सीपीसी र रास्वपाको राजनीतिक विचारधारा र शासन प्रणालीमा भिन्नता भए पनि दुवैको मूल लक्ष्य जनहित र राष्ट्रिय प्रगति नै रहेको उनले स्पष्ट पारे।
नेपाल विकासको महत्वपूर्ण मोडमा रहेको उल्लेख गर्दै उनले छिमेकी राष्ट्रको प्रगतिबाट अधिकतम लाभ लिँदै मुलुकलाई समृद्धिको दिशामा अघि बढाउनुपर्नेमा जोड दिए।