सरकारको सय दिन उपलब्धिमूलकभन्दा बढी विवादास्पद र निराशाजनक [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ असार २० शनिबार
411
Shares
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र साह (बालेन) नेतृत्वको सरकारले सय दिन पूरा गर्ने क्रममा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रमुख सचेतक ऐनबहादुर महरले सरकारको कार्यशैलीप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन्।
उनले सरकारको पहिलो सय दिन उपलब्धिमूलकभन्दा बढी विवादास्पद र निराशाजनक बनेको टिप्पणी गरे।
महरले सरकारले संविधान र कानुनको प्रभावकारी कार्यान्वयन गर्नुको साटो सर्वसत्तावाद, स्वेच्छाचारिता र तानाशाही प्रवृत्तितर्फ उन्मुख भएको आरोप लगाए। ठूलो जनमत प्राप्त भएको दम्भमा सरकारले लोकतान्त्रिक मूल्य-मान्यता, विधिको शासन र संसदीय अभ्यासलाई कमजोर बनाउने काम गरेको उनको भनाइ छ।
उनले चुनावअघि जनतासामु ठूला सपना बाँडे पनि कार्यान्वयन पक्ष अत्यन्त कमजोर रहेको दाबी गरे। हिजो परिवर्तनका अभियन्ता बनेर जनताको विश्वास जितेको नेतृत्व सत्तामा पुगेपछि परिपक्वता, स्पष्ट योजना र जवाफदेहिताभन्दा प्रचारमुखी गतिविधिमा केन्द्रित भएको उनको आरोप छ।
महरका अनुसार सरकारले सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना, अर्थतन्त्र सुधार र जनजीविकासँग प्रत्यक्ष जोडिएका विषयमा अपेक्षाअनुसार काम गर्न सकेको छैन। बरु आफूलाई असहमत व्यक्ति वा राजनीतिक दलप्रति प्रतिशोधको भावना राख्दै राज्य संयन्त्रको दुरुपयोग गर्ने प्रवृत्ति बढेको उनले बताए।
मन्त्रालयको संख्या घटाएर राज्यको खर्च कम गर्ने प्रतिबद्धता पूरा नगरी मन्त्रीहरूको स्वकीय सचिवालयमा ठूलो संख्यामा सल्लाहकार नियुक्त गरेर राज्यको आर्थिक भार बढाइएको उनको भनाइ छ। यसले कर्मचारी संयन्त्रलाई निष्क्रिय बनाउँदै सुशासनभन्दा कुशासनलाई प्रश्रय दिएको उनको जिकिर छ।
सरकारले सार्वजनिक गरेको सयबुँदे कार्ययोजनामध्ये १० प्रतिशत पनि प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको दाबी गर्दै महरले सरकारको कार्यशैली अपरिपक्व, गैरजिम्मेवार र जनअपेक्षाविपरीत रहेको टिप्पणी गरे।
प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्ने संवैधानिक व्यवस्थाको पालना नगरी संसदलाई नै उपेक्षा गरेको आरोप पनि उनले लगाए।
एमाले विरोधका लागि मात्र विरोध गर्ने पक्षमा नरहेको स्पष्ट पार्दै महरले जनताको हितमा हुने निर्णयमा पूर्ण सहयोग गर्ने, तर संविधान, विधिको शासन र लोकतान्त्रिक मूल्य-मान्यताविपरीतका गतिविधिमा सशक्त खबरदारी जारी रहने बताए।
अपार जनमतका साथ गठन भएको बालेन नेतृत्वको सरकारले युवा पुस्तामा जगाएको आशा पहिलो सय दिनमै कमजोर बनाएको दाबी गर्दै महरले वर्तमान कार्यशैली नसुधारिए आगामी दिन सरकारका लागि अझ चुनौतीपूर्ण बन्ने चेतावनी दिए।