देशभर मनसुनी वर्षा कायम: चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
हाम्रा कुरा
प्रकाशित २०८३ असार १९ शुक्रबार
250
Shares
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशभर साधारणतया बदली रही बागमती, कोसी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका पहाडी तथा हिमाली क्षेत्रका धेरै स्थान र तराईका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै उच्च हिमाली क्षेत्रका केही स्थानमा हिमपात हुन सक्ने मौसम पूर्वानुमान छ।
आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोसी, बागमती र गण्डकी प्रदेशका साथै कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। पहाडी र तराई क्षेत्रका केही स्थानमा पनि पानी पर्ने सम्भावना देखिन्छ।
महाशाखाले कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले ती क्षेत्रका बासिन्दालाई नदी तटीय क्षेत्र र पहिरोग्रस्त क्षेत्रमा विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ।