arrow

हात्तीपाइले रोग उन्मूलनतर्फ नयाँ कदम, तीनमा परजीवीको अध्ययन शुरू

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १८ बिहिबार
health-ministry.jpg

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले हात्तीपाइले रोग उन्मूलन अभियानलाई थप प्रभावकारी बनाउन रोग लगाउने परजीवी मानिसमा अझै रहेको छ वा छैन भन्ने अध्ययन शुरू गरेको छ। यसका लागि इलाम, पाँचथर र तेह्रथुमका विद्यालयमा अध्ययन थालिएको हो।

कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रका अनुसार कक्षा १ र २ मा अध्ययनरत छ र सात वर्ष उमेर समूहका बालबालिकाको रगतको नमूना सङ्कलन गरी परीक्षण भइरहेको छ।

केन्द्रका निर्देशक डा. भीमप्रसाद सापकोटाले इलाम, पाँचथर र तेह्रथुमका २४० विद्यालयमा अध्ययन सञ्चालन गरिएको जानकारी दिए। 

उनका अनुसार इलाम र पाँचथरका एक हजार ५७० तथा तेह्रथुमका एक हजार ४१० गरी करिब तीन हजार बालबालिकाको रगत परीक्षण गरिनेछ। नमूना सङ्कलनका लागि ६५ जना स्वास्थ्यकर्मी परिचालन गरिएको छ।

हात्तीपाइले रोग उचेरेरिया ब्याक्रोफ्टी, ब्रुजिया मलायी र ब्रुजिया टिमोरी नामक परजीवीबाट लाग्ने भए पनि नेपालमा हालसम्म भेटिएका बिरामीहरू उचेरेरिया ब्याक्रोफ्टीबाट मात्र सङ्क्रमित भएको पाइएको डा. सापकोटाले बताउनुभयो।

उनका अनुसार प्रभावित जिल्लामा स्थानीयले हात्तीपाइलेविरुद्धको औषधि छ पटक सेवन गरेपछि परजीवी पूर्ण रूपमा हटेको छ वा छैन भन्ने पुष्टि गर्न यो अध्ययन गरिएको हो। यसपटक सन् २०१९ पछि जन्मिएका, औषधि नखाएका बालबालिकामा अध्ययन केन्द्रित गरिएको छ।

नेपालका ६३ जिल्ला हात्तीपाइले रोगबाट प्रभावित रहेको तथ्याङ्क छ। आगामी आर्थिक वर्षमा जोखिम रहेका अन्य जिल्लामा पनि यस्तै अध्ययन विस्तार गरिने केन्द्रले जनाएको छ।

चिकित्सकका अनुसार मसिनो धागोजस्तो जुकाको परजीवीबाट हुने यो रोग क्यूलेक्स जातको सङ्क्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्छ।

समयमै औषधि सेवन, लामखुट्टेको नियन्त्रण र नियमित स्वास्थ्य परीक्षणले हात्तीपाइले रोग उन्मूलनमा महत्वपूर्ण भूमिका खेल्ने स्वास्थ्य विज्ञहरूको भनाइ छ।

हात्तीपाइले उन्मूलन सरकारको मात्र अभियान होइन, प्रत्येक नागरिकको सहभागितासँग जोडिएको सार्वजनिक स्वास्थ्यको साझा जिम्मेवारी पनि हो।

नियमित औषधि सेवन र स्वास्थ्यकर्मीको सल्लाह पालनाले भविष्यका पुस्तालाई यो रोगबाट सुरक्षित राख्न सकिने विश्वास गरिएको छ।रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ