सार्वजनिक-निजी साझेदारी मोडेलमा हुलाक सेवा [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ असार १६ मंगलबार
228
Shares
काठमाडौँ। सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले सरकारले हुलाक सेवालाई सार्वजनिक-निजी साझेदारी (पीपीपी) मोडेलमार्फत अघि बढाउने योजना बनाएको बताएका छन्।
मंगलबार काठमाडौंमा आयोजित हुलाक सेवाको आधुनिकीकरणसम्बन्धी उच्चस्तरीय संवाद कार्यक्रममा बोल्दै उनले सरकारी र निजी क्षेत्रको सहकार्यबाट मात्रै जनतालाई प्रभावकारी सेवा प्रवाह गर्न सकिने भएकाले सरकारले सोही अवधारणाअनुसार काम गरिरहेको बताए।
मन्त्री तिमिल्सिनाले हुलाक सेवासम्बन्धी नीतिगत तथा संरचनागत सुधार आवश्यक रहेको उल्लेख गर्दै विद्यमान संरचनाको कार्यक्षमता अभिवृद्धि गर्नुपर्ने बताए। सरकारले हुलाक सेवाको सुधारलाई प्राथमिकतामा राखेर काम अघि बढाएको र सय दिनभित्र गर्ने लक्ष्य राखिएका काममा उल्लेखनीय प्रगति भएको उनको दाबी छ।
उनले आगामी वर्ष हुलाक सेवालाई थप आधुनिक, प्रभावकारी र प्रतिस्पर्धी बनाउने लक्ष्यका साथ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताए। देशभरको हुलाक सेवा प्रभावकारी बनाउन सरकारी संयन्त्रमात्र पर्याप्त नहुने उल्लेख गर्दै सार्वजनिक-निजी साझेदारी नै उपयुक्त विकल्प भएको उनको भनाइ छ।
मन्त्री तिमिल्सिनाले हुलाक सेवासँग सम्बन्धित सरोकारवालालाई देखिएका समस्या खुलस्त राख्न आग्रह गर्दै सरकारले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाए।
कार्यक्रममा उनले हुलाक सेवालाई आधुनिक, विश्वसनीय र नागरिकले गर्व गर्ने संस्थाका रूपमा विकास गर्न सम्बन्धित निकायका कर्मचारीलाई निर्देशन पनि दिए।