वर्षासँगै पहिरो झर्दा मेची राजमार्गको गोलाखर्क-राजदुवाली अवरुद्ध
हाम्रा कुरा
प्रकाशित २०८३ असार १४ आइतबार
246
Shares
काठमाडौँ । लगातारको वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्ग अन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। इलाम नगरपालिका–९ स्थित माईखोला नजिकै सडकमाथिबाट लेदोसहितको ठूलो पहिरो खसेपछि यातायात ठप्प भएको हो।
प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालका अनुसार गएराति वर्षासँगै झरेको लेदो पहिरोले सडक पुरिएको हो। सधैँ जोखिमयुक्त मानिने यस सडकखण्डमा लेदो खसिरहने र सवारी आवागमन बन्द हुने समस्या यसअघि पनि देखिँदै आएको थियो। सडक अवरुद्ध भएपछि साना सवारीसाधनलाई कम्तीमा एकतर्फी रूपमा सञ्चालन गराउने उद्देश्यका साथ बिहानैदेखि पहिरो पन्छाउने कार्य भइरहेको छ। तर, माथिबाट लगातार लेदो झरिरहेकाले ठूला सवारीसाधनका लागि सडक पूर्ण रूपमा खुलाउन भने केही समय लाग्ने प्रजिअ ढकालले बताए।
यसैबिच, मेची राजमार्गकै रोङ गाउँपालिका–४ स्थित इलाम–झापा सीमा क्षेत्रमा पनि सडकमाथिबाट माटोको ढिस्को खस्नुका साथै दुईवटा रुख ढलेर सडक अवरुद्ध भएको छ। उक्त खण्डको अवरोध हटाएर सडक सुचारु गराउन प्रहरी टोली खटिरहेको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख एवं प्रहरी उपरीक्षक कुलदीप चन्दले जानकारी दिए।
मेची राजमार्गका दुई ठाउँमा सडक अवरुद्ध भएपछि इलाम, पाँचथर, ताप्लेजुङ र झापा आउजाउ गर्ने नागरिक प्रत्यक्ष प्रभावित भएका छन्। पहाडी जिल्लाहरूबाट झापा (तराई) तर्फ झर्न लागेका र झापाबाट इलाम, पाँचथर र ताप्लेजुङतर्फ जाँदै गरेका सयौँ सवारीसाधनहरू बिच बाटोमै रोकिँदा यात्रुहरू अलपत्र परेका छन्।