arrow

धुलिखेल–खावा सडकमा असार २२ देखि राति सवारीसाधन चलाउन रोक

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १३ शनिबार
suryabinayak-dhulikhel-road-83-1-30 (17).jpg

काठमाडौँ । स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डको कामलाई तीव्रता दिन आगामी असार तेस्रो सातादेखि १५ दिनसम्म रातको समयमा सवारीसाधन आवागमनमा रोक लगाइने भएको छ। जिल्ला सुरक्षा समितिले उक्त सडकखण्डमा यही असार २२ गतेदेखि आगामी साउन ४ गतेसम्म रातिको समयमा पूर्ण रूपमा सवारीसाधन बन्द गर्ने निर्णय गरेको हो।

सडक कालोपत्र गर्ने कार्यलाई सहज बनाउन उक्त अवधिभर टिपर र मालवाहक ठूला ट्रकलाई पूर्ण रूपमा प्रवेश निषेध गरिनेछ। अन्य यात्रुवाहक तथा मालवाहक सवारीसाधनलाई भने बेलुका ७:०० बजेदेखि बिहान ५:०० बजेसम्म मात्रै प्रवेशमा रोक लगाइने समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए। आर्थिक वर्षको अन्त्यको समय भएकाले निर्माण सामग्री ढुवानीमा धेरै बाधा नपुगोस् भनी सडक निर्माणको यो प्रक्रियालाई केही दिन ढिला गरी असार २२ बाट लागू गर्न लागिएको हो।

समितिले सडक निर्माण कार्य भइरहेका बेला यात्रु तथा मालवाहक सवारीसाधनलाई सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न सिफारिस गरेको छ। यद्यपि, तोकिएको अवधिमा रातिको समयमा पनि एम्बुलेन्ससहितका अत्यावश्यक सेवाका सवारीसाधन भने पूर्ववत् रूपमै सञ्चालन हुन पाउनेछन्। सवारीसाधन व्यवस्थापन तथा चालकहरूलाई आवश्यक सहजीकरण गर्न काभ्रे प्रशासनले काठमाडौँ, भक्तपुर, दोलखा र सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयहरूसँग समन्वय गर्ने जनाएको छ।

यसअघि गत चैत महिनामा पनि करिब एक महिनाभर रातको समयमा आवागमन पूर्ण रूपमा बन्द र दिउँसो एकतर्फी सञ्चालन गरेर २.५ किलोमिटर सडक कालोपत्र (डीबीएम पिच) गरिएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ