पाँच वर्षमा क्यान्सरका बिरामी दोब्बरले बढे, सहुलियत लिनेको संख्या २८ हजार नाघ्यो
फोक्सो र पाठेघरको क्यान्सर प्रमुख
हाम्रा कुरा
प्रकाशित २०८३ असार १३ शनिबार
306
Shares
काठमाडौँ । नेपालमा विगत पाँच वर्षको अवधिमा क्यान्सरका बिरामीको संख्या करिब दोब्बरले बढेको छ। सरकारबाट उपचार खर्चबापत सहुलियत लिने क्यान्सरका बिरामीको संख्यामा उल्लेख्य वृद्धि भएको स्वास्थ्य सेवा विभागको सामाजिक सुरक्षा तथा नर्सिङ महाशाखाले जनाएको छ। महाशाखाका निर्देशक हिरादेवी निरौलाले पाँच वर्षमा क्यान्सरको उपचारबापत सहुलियत लिने बिरामी दोब्बरले बढेको जानकारी दिए।
उनका अनुसार आर्थिक वर्ष २०७७/७८ मा १५ हजार १८७ जना क्यान्सरका बिरामी रहेकामा आर्थिक वर्ष २०८१/८२ मा यो संख्या बढेर २८ हजार ६७८ पुगेको छ। जनचेतनाको कमीका कारण क्यान्सरको जोखिम बढिरहेकाले यसबाट बच्न सरकार र नागरिक समाज सबै मिलेर सचेतनाका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए।
महाशाखाको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८/७९ मा १९ हजार ३१, २०७९/८० मा १६ हजार ६९६ र २०८०/८१ मा २२ हजार १५३ जना क्यान्सरका बिरामीले उपचार खर्च लिएका थिए। महाशाखाले विपन्न नागरिक औषधि उपचार कोषमार्फत क्यान्सर पीडितका लागि १ लाख रुपैयाँसम्मको औषधि उपचारको व्यवस्था गर्दै आएको छ भने प्रदेश सरकारहरूले पनि थप १ लाख रुपैयाँसम्मको उपचार सहायता प्रदान गर्दै आएका छन्।
शरीरको कोष तथा कोषिकाको समूहको अस्वाभाविक वृद्धि (गिर्खा वा ट्युमर) नै क्यान्सर रोग हो। नेपालमा विशेष गरी पुरुषमा फोक्सो, पेट, आन्द्रा, मुख र थाइराइडको क्यान्सर बढी देखिएको छ भने महिलामा पाठेघरको मुख, स्तन, फोक्सो, पित्तथैली र डिम्बाशयको क्यान्सर प्रमुख रूपमा रहेका छन्। समग्रमा नेपालमा सबैभन्दा बढी फोक्सोको क्यान्सर र त्यसपछि महिलाको पाठेघरको मुखको क्यान्सर रैका छन्।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीले अत्यधिक मद्यपान, सुर्तीजन्य पदार्थको सेवन, अस्वस्थकर खानपिन, आधुनिक जीवनशैली, व्यायामको कमी, विकिरणको प्रभाव, जीवाणु र वंशानुगत कारणहरूले क्यान्सर निम्त्याउने बताए।
परम्परागत सन्तुलित खाना छोडेर फास्टफुड, जङ्कफुड, धुम्रपान, मद्यपान, पोलेको, सडेगलेको तथा बासी खानेकुरा खाँदा क्यान्सरको जोखिम धेरै हुने र मोटोपन क्यान्सरको दोस्रो ठूलो कारक रहेको उनले स्पष्ट पारे। खानपिन, आराम, व्यायाम, धुम्रपान र मोटोपनलाई नियन्त्रण गर्न सके क्यान्सरको जोखिमलाई धेरै हदसम्म कम गर्न सकिने उनको भनाइ छ।
क्यान्सरको रोकथाम र नियन्त्रणका लागि सरकारले महिलाहरूमा हुने पाठेघरको मुखको क्यान्सर विरुद्ध लगाइने ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप किशोरीहरूलाई निःशुल्क उपलब्ध गराउँदै आएको छ। यस्तै, क्यान्सर रोगको विशिष्टीकृत उपचारका लागि सरकारी तहबाटै भक्तपुर क्यान्सर अस्पताल (भक्तपुर), बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल (चितवन) र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल (बाँके) स्थापना गरी सेवा प्रदान गरिँदै आएको छ।