राप्ती प्रतिष्ठानमा बृहत क्यान्सर परीक्षण शिविरमा तीन सयले लिए सेवा
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १४ शनिबार
775
Shares
दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले एकपछि अर्को गर्दै विशेषज्ञ सेवा थपेपछि सेवा लिने बिरामीको चाप बढिरहेको छ । दैनिकजसो एक हजारको हारहारीमा बिरामी प्रतिष्ठानमा उपचारका लागि आइरहेका छन् ।
यसै क्रममा प्रतिष्ठानले बिरामीको सेवालाई ध्यानमा राख्दै शुक्रबार गरेको बृहत क्यान्सर परामर्श तथा परीक्षण शिविरमा करिब तीन सयले सेवा लिएका छ्न् ।
बिहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म चलेको शिविरमा मेडिसिनतर्फ २१ जना, गाइनोतर्फ १ सय ९३ जना र सर्जरी तर्फ ७२ जनाले देखाएको निमित्त उपकुलपति तथा रजिस्ट्रार प्रा. श्याम लम्सालले जानकारी दिए ।
उनले क्यान्सरको सेवा शुरू गर्न प्रतिष्ठानले पहल गरेको र यस्ता शिविरले क्यान्सरका बिरामी पहिचान र उपचार गर्न सहज हुने बताए । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनसँगको प्राविधिक सहयोगमा शिविर भएको हो ।
शिविरबाट ठूलो संख्यामा बिरामी लाभान्वित बनेको लम्सालले बताए । शिविरमा क्यान्सर अस्पताल भरतपुर चितवन र प्रतिष्ठानका विभिन्न विभागमा कार्यरत विशेषज्ञ चिकित्सक तथा कर्मचारी खटाइएको थियो ।
क्यान्सर अस्पतालबाट विशेषज्ञ चिकित्सकका रूपमा मेडिकल अंकोलोजी डा. बिबेक कडेल, ब्रेष्ट सर्जरी डा. अनुप भट्टचन, युरोलोजि डा. बोधराज गौतम, गाइनो अंकोलोजी,डा. अस्मिता ओलीले शिविरमा चेकजाँच गरेका थिए ।
प्रतिष्ठानमा क्यान्सर सम्बन्धी भएको यो ठूलो र पहिलो शिविर हो । प्रतिष्ठानमा क्यान्सर उपचार सेवा शुरू गर्न सहकार्य गर्ने र क्यान्सर अस्पतालबीच यसअघि दुवै स्वास्थ्य संस्थाबीच भएको सम्झौता अनुरुप शिविर भएको र यसलाई आगामी दिनमा निरन्तरता दिइने निमित्त उपकुलपति प्रा.लम्सालको भनाइ छ ।
शिविरमा महिलाको पाठेघर, स्तन, योनी लगायतको क्यान्सर परीक्षण हुने भएकाले क्यान्सरका बिरामी र पाठेघरमा समस्या भएका, स्तनमा गाँठा भएका, योनी चिलाउने तथा घाउ भएका लगायतका समस्या हुने महिलाहरुले परीक्षण गराएका थिए ।