काम नगरेर सडक अलपत्र पार्ने १६ ओटा रुग्ण ठेक्का एकसाथ तोड्दै जुम्ला कार्यालय
हाम्रा कुरा
प्रकाशित २०८३ असार १३ शनिबार
215
Shares
काठमाडौँ । जुम्लास्थित सडक डिभिजन कार्यालयले कर्णाली राजमार्ग र मातहतका सडक निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षौँदेखि अलपत्र पारिएका १६ ओटा रुग्ण ठेक्का एकसाथ तोड्न प्रक्रिया सुरु गरेको छ। सम्झौता अवधि सकिएर पनि लामो समयसम्म काम सम्पन्न नभएपछि कार्यालयले ठेक्का अन्त्य गर्नेसम्बन्धी १५ दिने सार्वजनिक सूचना प्रकाशित गरेको हो।
सडक डिभिजन कार्यालयका सूचना अधिकारी सौरभकुमार सिंहका अनुसार आर्थिक वर्ष २०७४/७५ देखि २०८२/८३ सम्म सम्झौता भएका कालिकोटका १२, जुम्लाका ३ र मुगु जिल्लाको १ गरी जम्मा १६ ओटा रुग्ण ठेक्काहरू तोड्नका लागि प्रक्रिया अगाडि बढाइएको हो। ठेक्का लिने तर काम नगर्ने र आयोजनाहरू अलपत्र पार्ने निर्माण व्यवसायीहरूको प्रवृत्ति अन्त्यका लागि कार्यालयले यो कडा कदम चालेको हो।
विभिन्न मितिमा लिखित तथा मौखिक रूपमा कार्य सम्पन्न गर्न ताकेता गर्दा समेत निर्माण व्यवसायीहरूले निर्माण कार्य सम्पन्न गर्न कुनै चासो नदेखाएकाले सार्वजनिक खरिद कानुनमा भएको व्यवस्था बमोजिम ठेक्का रद्द गर्ने निर्णय गरिएको सडक डिभिजन कार्यालयका प्रमुख श्रवणकुमार महतराले बताए।
अब कानुन अनुसार ठेक्का सम्झौता अन्त्य गरी सम्बन्धित निर्माण कम्पनीहरूलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाइनेछ। यसका साथै उनीहरूको कार्यसम्पादन जमानत, धरौटी बापतको रकम र पेस्की जमानत जफत गरिनेछ। निर्माण व्यवसायीहरूले लिएको पेस्की रकमको १० प्रतिशत ब्याज असुल गर्नाका साथै अलपत्र पारिएका बाँकी काम सम्पन्न गर्न लाग्ने थप खर्च समेत सरकारी बाँकी सरह सम्बन्धित व्यवसायीहरूबाटै असुलउपर गरिने कार्यालय प्रमुख महतराले स्पष्ट पारे।
सडक डिभिजन कार्यालय जुम्लाले यसअघि पनि कर्णाली राजमार्ग अन्तर्गतका निर्माण कार्य अलपत्र पारिएका १० ओटा रुग्ण आयोजनाहरूको ठेक्का तोडिसकेको जनाएको छ।