arrow

लुम्बिनीमा भुटानी गुम्बाको शिलान्यास

पारो-भैरहवा सिधा उडान र नेपालीलाई भुटान भ्रमण शुल्कमा सहुलियत दिन नेपालको प्रस्ताव

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १३ शनिबार
bhutan-gumba-lumbini.jpg

काठमाडौँ । भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भुटान सरकारले निर्माण गर्न लागेको भुटानी गुम्बाको औपचारिक रूपमा शिलान्यास गरिएको छ। भुटानका गृहमन्त्री ल्योन्पे छिरिङ, भुटानका धर्मगुरु उप महासङ्घराजा दोर्जे लोपेन रिम्पोछे तथा नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज अधिकारी (गणेश) पौडेलको उपस्थितिमा विशेष धार्मिक विधिअनुसार गुम्बा निर्माणको शुभारम्भ गरिएको हो।

शिलान्यास कार्यक्रममा भुटानी लामागुरुहरूले धार्मिक अनुष्ठान गर्दै भूमि पूजन गरेका थिए। गुम्बा निर्माणलाई भुटान र नेपालबीचको सांस्कृतिक, धार्मिक तथा कूटनीतिक सम्बन्धलाई अझ सुदृढ बनाउने ऐतिहासिक कदमका रूपमा हेरिएको छ।

भुटान सरकारको गृह मन्त्रालयअन्तर्गत संस्कृति तथा जोङ्खा विकास विभागकी महानिर्देशक म्याक्सुद ओजीले लुम्बिनीमा भुटानी मन्दिर निर्माण सुरु हुनु भुटानका लागि ऐतिहासिक उपलब्धि भएको बताए भुटान सरकार र लुम्बिनी विकास कोषबीच गत वर्ष भएको समझदारीपत्र अनुसार चालु वर्षभित्रै यो परियोजना सुरु गरिएको हो।

पहिलो चरणअन्तर्गत गुम्बा परिसरको सीमा पर्खाल निर्माण सम्पन्न भइसकेको र आगामी दुई वर्षभित्र मुख्य मन्दिरसहित सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ। प्रस्तावित गुम्बामा भुटानको मौलिक वास्तुकला, धार्मिक कला, प्रार्थना कक्ष र सांस्कृतिक प्रदर्शनी क्षेत्र समेटिनेछ, जसले लुम्बिनीलाई अन्तर्राष्ट्रिय बौद्ध केन्द्रका रूपमा स्थापित गर्न मद्दत पुर्‍याउनेछ।

गुम्बा शिलान्यासको अवसरमा नेपाल र भुटानका उच्च सरकारी प्रतिनिधिबीच लुम्बिनीमा द्विपक्षीय भेटवार्ता समेत सम्पन्न भएको छ। मन्त्री खड्गराज पौडेल र भुटानका गृहमन्त्री ल्योन्पे छिरिङबीच भएको छलफलमा पर्यटन र सांस्कृतिक आदानप्रदानमा केन्द्रित रहेर विचार विमर्श भयो।

लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव ज्ञानीन राईका अनुसार वार्ताका क्रममा नेपाली पक्षले भुटानी टोलीसमक्ष दुई महत्त्वपूर्ण प्रस्ताव राखेको थियो। नेपालले भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबीच सिधा हवाई उडान सञ्चालन गर्न र 'पारो–लुम्बिनी–बोधगया' धार्मिक पर्यटन सर्किट विकास गर्न जोड दिएको छ।

यसका साथै, भुटानले विदेशी पर्यटकहरूमाथि लागू गर्दै आएको दिगो विकास शुल्क (एसडीएफ) अन्तर्गत नेपाली नागरिकले भुटान भ्रमण गर्दा प्रतिव्यक्ति प्रतिदिन १०० अमेरिकी डलर तिर्नुपर्ने व्यवस्था छ। नेपालले भारत र बंगलादेशका पर्यटकलाई जस्तै ऐतिहासिक र धार्मिक सम्बन्धका आधारमा नेपाली नागरिकका लागि उक्त शुल्क हटाउन वा विशेष सहुलियत दिन आग्रह गरेको छ।

भुटानका गृहमन्त्री ल्योन्पे छिरिङले नेपालले उठाएका विषयहरूलाई सकारात्मक रूपमा लिँदै सरकारी तहमा थप छलफल गरिने प्रतिबद्धता व्यक्त गरे। उक्त भेटवार्तामा नेपालका तर्फबाट सांसदहरू तौफिक अहमद खाँन र कन्हैया बनिया तथा भुटानका तर्फबाट नेपालका लागि भुटानी राजदूत मेजर जनरल भेत्सोप नामग्येल र गृह सचिव लगायतको सहभागिता रहेको थाहा भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ