विश्व शान्तिका लागि अन्तर्राष्ट्रिय सहकार्य अपरिहार्य : एन्टोनियो गुटेर्रेस
हाम्रा कुरा
प्रकाशित २०८३ असार १३ शनिबार
357
Shares
काठमाडौँ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले वर्तमानको अशान्त विश्वमा अन्तर्राष्ट्रिय सहयोग र ऐक्यबद्धतामार्फत मात्रै विश्वव्यापी चुनौतीहरूको प्रभावकारी समाधान सम्भव हुने बताएका छन्।
संयुक्त राष्ट्रसंघको बडापत्र दिवस (यूएन चार्टर डे) का अवसरमा आयोजित महासभाको अनौपचारिक बैठकलाई सम्बोधन गर्दै महासचिव गुटेर्रेसले साझा चुनौतीहरूको सामना गर्न बहुपक्षीय सहकार्य अपरिहार्य रहेको उल्लेख गरे। उनले सहकार्य गर्नु आदर्शवाद नभई वर्तमान विश्वको यथार्थ आवश्यकता भएको स्पष्ट पारे।
कतिपयले सीमाभित्र खुम्चिएर वा एक्लै सङ्कटको सामना गर्न सकिन्छ भन्ने भ्रम पालिरहेको उल्लेख गर्दै उनले यस्तो सोचले कुनै पनि राष्ट्रलाई सुरक्षित बनाउन नसक्ने बताए।
महासचिव गुटेर्रेसले संयुक्त राष्ट्रसंघको बडापत्रका सिद्धान्तहरू कुनै पनि अवस्थामा ऐच्छिक वा सम्झौतायोग्य नहुने स्पष्ट पारे। उनले बडापत्रलाई ‘आ ला कार्ट मेनु’सँग तुलना गर्दै इच्छाअनुसार केही सिद्धान्त मात्र लागू गर्ने प्रवृत्ति स्वीकार्य नभएको बताए। उनका अनुसार बडापत्रका आधारभूत सिद्धान्त कमजोर हुँदा प्रत्येक राष्ट्रको सुरक्षा जोखिममा पर्छ।
उनले सदस्य राष्ट्रहरूलाई अन्तर्राष्ट्रिय मानवीय कानुनसहित संयुक्त राष्ट्रसंघको बडापत्रका उद्देश्य र सिद्धान्तहरूको पूर्ण सम्मान र कार्यान्वयन गर्न आग्रह गरे।
सम्बोधनका क्रममा महासचिव गुटेर्रेसले वर्तमान विश्वको बदलिँदो यथार्थअनुसार संयुक्त राष्ट्रसंघमा आवश्यक सुधार गर्नुपर्ने आवश्यकता औंल्याए। उनले सुधारको उद्देश्य संस्थालाई कमजोर बनाउनु नभई अझ प्रभावकारी, समावेशी र सुदृढ बनाउनु हुनुपर्नेमा जोड दिए।
उनले कूटनीति र क्षेत्रीय ऐक्यबद्धतालाई सशक्त बनाउँदै दिगो विकासका प्रयासलाई तीव्रता दिनुपर्ने आवश्यकता पनि औंल्याए। शान्ति, मानवीय मर्यादा र विकासका अवसर एकअर्कासँग गहिरो रूपमा जोडिएको उनको भनाइ थियो।
सम्बोधनको अन्त्यमा महासचिव गुटेर्रेसले बहुपक्षीय सहकार्यबाट मात्रै जनताको हितमा ठोस नतिजा हासिल गर्न र अन्तर्राष्ट्रिय विश्वास पुनःस्थापित गर्न सकिने विश्वास व्यक्त गरे।
उनले विपद्को समयमा स्थापित संयुक्त राष्ट्रसंघको बडापत्रलाई पूर्ण रूपमा कार्यान्वयन गर्दै न्यायपूर्ण, शान्तिपूर्ण र समृद्ध विश्व निर्माणका लागि सबैलाई एकजुट भएर अघि बढ्न आह्वान गरे।