कक्षा १२ को नतिजाप्रति विद्यार्थीको असन्तुष्टि [भिडियो]
पुनर्योग मात्र होइन, निःशुल्क उत्तरपुस्तिका पुनः परीक्षणको माग गर्दै माइतीघरमा धर्ना
हाम्रा कुरा
प्रकाशित २०८३ असार ११ बिहिबार
258
Shares
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को परीक्षाफलप्रति विद्यार्थीहरूले गम्भीर असन्तुष्टि जनाउँदै सडक आन्दोलन सुरु गरेका छन्। बिहीबार विद्यार्थीहरूले परीक्षाफलको विश्वसनीयता र मूल्याङ्कन प्रणालीमाथि गम्भीर प्रश्न उठाउँदै काठमाडौँको माइतीघर मण्डलामा धर्ना दिएका हुन्। आफूहरूले परीक्षा निकै राम्रो दिए पनि सोचेभन्दा निकै कम ग्रेड प्राप्त भएको उनीहरूको गुनासो छ।
आन्दोलित विद्यार्थीहरूले परीक्षाफल छिटो निकाल्ने होडबाजीमा बोर्डले मूल्याङ्कन प्रक्रियामा चरम लापरवाही गरेको आरोप लगाएका छन्। आन्दोलनमा सहभागी विद्यार्थी रञ्जित कार्कीले परीक्षामा लेखेअनुसारको अङ्क नआएको दाबी गर्दै कुन मापदण्डका आधारमा एक महिनामै नतिजा सार्वजनिक गरियो भनी प्रश्न गरे। उनले बोर्डको गल्तीका कारण विद्यार्थीहरू समस्यामा परेकाले अब उत्तरपुस्तिका पुनः परीक्षण (रि-चेकिङ) गर्दा कुनै पनि शुल्क लिन नहुने र यो प्रक्रिया पूर्ण रूपमा निःशुल्क हुनुपर्ने माग गरे। विद्यार्थीको गल्ती नभएको अवस्थामा पुनः परीक्षणका लागि थप शुल्क असुल्नु सरासर अन्याय हुने उनको भनाइ छ।
अर्की विद्यार्थी स्मृति खतिवडाले उत्तीर्ण भएका अधिकांश विद्यार्थीसमेत आफ्नो नतिजाबाट सन्तुष्ट नरहेको बताइन्। उनले केवल प्राविधिक रूपमा अङ्क जोड्ने काम (रिटोटलिङ) गरेर मात्रै अहिलेको समस्या समाधान नहुने स्पष्ट पार्दै उत्तरपुस्तिका सुरुदेखि नै पुनः जाँच गरिनुपर्ने माग गरिन्। उत्तरपुस्तिका रि-चेकिङ गरेपछि मात्रै वास्तविक त्रुटि बाहिर आउने र विद्यार्थीले न्याय पाउने उनको भनाइ छ।
विद्यार्थीहरूले त्रुटिपूर्ण परीक्षाफल सार्वजनिक गरेर सरकारले विद्यार्थीहरूको १२ वर्षको मेहनत र भविष्यमाथि खेलबाड गरेको आरोप लगाएका छन्। राष्ट्रिय परीक्षा बोर्डले गर्ने प्राविधिक गल्तीको सजाय र आर्थिक भार विद्यार्थीमाथि थपिने गरेको भन्दै उनीहरूले आक्रोश व्यक्त गरे। कतिपय त्रुटिपूर्ण नतिजाकै कारण केही विद्यार्थीहरूले आत्महत्यासमेत गर्नुपरेको दुःखद स्थितिबारे उनीहरूले ध्यानाकर्षण गराए। माइतीघरको धर्नामा सहभागी विद्यार्थीहरूले ‘१२ वर्षको मेहनत खेर ? यसको जिम्मेवार को ? जवाफ दे !’, ‘हाम्रो भविष्य बर्बाद भयो, हामी न्याय खोज्न कहाँ जाऔँ ?’ र ‘अनफेयर रिजल्ट’ जस्ता नारा लेखिएका प्लेकार्डहरू बोकेर विरोध प्रदर्शन गरेका छन्।