पोखरा । फेवातालमा डुबेर बेपत्ता भएका एक युवकको उद्धारपछि उपचारका क्रममा मृत्यु भएको छ।
पोखरा महानगरपालिका-९ नयाँबजार निवासी अन्दाजी ३४ वर्षीय शंकर नेपाली असार १० गते बेलुका फेवातालमा माछा मार्ने क्रममा डुबेर बेपत्ता भएका थिए।
घटनालगत्तै सशस्त्र प्रहरी बल नेपाल फेवाताल वाच एन्ड रेस्क्यु टावरबाट सशस्त्र प्रहरी निरीक्षक देवेन्द्र केसीको कमाण्डमा गोताखोरसहितको टोली परिचालन गरिएको थियो। टोलीले नेपालीलाई तालको करिब २० फिट गहिराइबाट अचेत अवस्थामा उद्धार गरेको थियो।
उद्धारपछि उनलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा साँझ करिब ७ बजे चिकित्सकले मृत घोषणा गरेको सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।