मनसुनजन्य विपद् जोखिममा दुई लाख बढी नागरिक, देशैभर 'हाई अलर्ट'
हाम्रा कुरा
प्रकाशित २०८३ असार १० बुधबार
303
Shares
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसुनका कारण देशभर करिब ५१ हजार घरधुरी प्रत्यक्ष प्रभावित हुन सक्ने र करिब २ लाख २६ हजार जनसङ्ख्या विभिन्न किसिमका जोखिममा पर्न सक्ने प्रारम्भिक अनुमान गरेको छ। यही असार ५ गते कोशी प्रदेशबाट नेपाल प्रवेश गरेको मनसुन प्रणाली हालसम्म कोशी क्षेत्रमै अलि कमजोर अवस्थामा रहेको र यो देशभर पूर्ण रूपमा सक्रिय हुन अझै केही दिन लाग्ने मौसमविद्हरूको अनुमान छ ।
मनसुनजन्य विपद्बाट हुन सक्ने क्षति न्यूनीकरणका लागि प्राधिकरणले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना–२०८३’ स्वीकृत गरी सातै प्रदेश, ७7 वटै जिल्ला प्रशासन कार्यालय र स्थानीय तहहरूमा कार्यान्वयनका लागि पठाइसकेको छ। मुलुकका अधिकांश स्थानीय तहले यसै कार्ययोजनालाई नमुना मानेर आ-आफ्नो स्थानीय कार्ययोजना समेत तयार गरी लागू गरिसकेका छन्।
प्राधिकरणले मनसुनका साथै खडेरी र अत्यधिक गर्मी (तातो हावाको लहर/लु) बाट उत्पन्न हुन सक्ने जोखिमलाई समेत लक्षित गर्दै एकीकृत पूर्वतयारी योजना अघि सारेको छ। यस योजनामा अत्यधिक गर्मीको अवस्थामा सङ्घ, प्रदेश र स्थानीय तहका निकायहरूको जिम्मेवारी स्पष्ट रूपमा तोकिएको छ र तातो हावाको लहरको जोखिम कम गर्न सबै तहका सरकारबीच आपसी समन्वय र सहकार्य भइरहेको छ।
भौगोलिक संवेदनशीलता र पूर्वानुमानका आधारमा यस वर्षको मनसुनबाट लुम्बिनी, कोशी र मधेश प्रदेश सबैभन्दा बढी प्रभावित हुन सक्ने अनुमान गरिएको छ भने कर्णाली प्रदेश तुलनात्मक रूपमा कम प्रभावित हुने देखिएको छ।
सम्भावित विपद्को प्रभावकारी सामना गर्नका लागि प्राधिकरणले यस वर्ष खोज तथा उद्धार सामग्री, राहत सामग्री र अन्य आवश्यक प्राविधिक उपकरणहरू विगतका वर्षहरूको तुलनामा थप खरिद गरी देशका विभिन्न रणनीतिक स्थानहरूमा भण्डारण गरिसकेको छ। यसका साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनासहित तीनवटै सुरक्षा निकायका तालिमप्राप्त विशेष टोली तथा गोताखोरहरूलाई तयारी अवस्थामा राखिएको छ।
विपद् प्रतिकार्य, राहत तथा उद्धार कार्यलाई छिटो र छरितो बनाउन ११ वटा विषयगत मन्त्रालयहरूबीच आपसी समन्वयको ठोस व्यवस्था मिलाइएको छ।
यस वर्षको पूर्वतयारीमा नागरिकका लागि सबैभन्दा महत्त्वपूर्ण सुधार आकस्मिक हेल्पलाइन नम्बर ११४९ मा गरिएको छ। विगतका वर्षहरूमा यो हेल्पलाइन नम्बरमा फोन गर्दा केन्द्र (काठमाडौँ) मा मात्र फोन उठ्ने व्यवस्था रहेकोमा यस पटकदेखि नागरिकले ११४९ मा फोन गर्दा ७7 वटै जिल्ला प्रशासन कार्यालयमा रहेका 'जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र' मै सोझै फोन उठ्ने र तत्काल स्थानीय स्तरमै उद्धार टोली परिचालन हुने व्यवस्था मिलाइएको छ।
प्राधिकरणले मनसुनी विपद्को उच्च जोखिम रहेका क्षेत्रका सम्पूर्ण नागरिकहरूलाई मौसमको पूर्वानुमान र स्थानीय प्रशासनको सूचनालाई ध्यानमा राख्दै आवश्यक पूर्वतयारीका साथ सतर्क रहन समेत आग्रह गरेको छ।