काठमाडौँ । चिया निर्यातमा पछिल्लो समय देखिएका विभिन्न प्राविधिक, व्यापारिक तथा गुणस्तरसम्बन्धी समस्याहरूको पहिचान गरी समाधानका उपाय सिफारिस गर्न सरकारले एक उच्चस्तरीय विशेष कार्यदल गठन गरेको छ। नेपाली चिया निर्यातमा निरन्तर आइरहेका अवरोध र चुनौतीहरूको विस्तृत अध्ययन गरी स्थायी समाधान खोज्ने उद्देश्यले यो कदम चालिएको हो।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार यस कार्यदललाई चिया निर्यातका क्षेत्रमा देखिएका अड्चनहरूको मसिनो गरी अध्ययन गर्दै आगामी दुई साताभित्र सरकारसमक्ष प्रतिवेदन पेस गर्ने मुख्य जिम्मेवारी दिइएको छ। प्रतिवेदनमा समस्या समाधानका लागि तत्कालीन, मध्यकालीन तथा दीर्घकालीन रणनीतिक उपायहरू समेटिने प्रधानमन्त्रीको सचिवालयले स्पष्ट पारेको छ।
गठित कार्यदलको नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखाका सह–सचिवले गर्नेछन्। चिया निर्यातका बहुपक्षीय आयामहरूलाई समेट्न कार्यदलमा विभिन्न मन्त्रालय र सरोकारवाला निकायका उच्च अधिकारीहरूलाई सदस्यका रूपमा समावेश गरिएको छ। जसमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, र कृषि, वन तथा वातावरण मन्त्रालयका उपसचिवहरूको प्रतिनिधित्व रहेको छ।
त्यसैगरी भन्सार विभागका उप–महानिर्देशक, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका निर्देशक, नेपाल गुणस्तर तथा नापतौल विभागका निर्देशक, राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक तथा द्विपक्षीय व्यापार तथा पारवहनशाखाका उप–सचिवलाई पनि कार्यदलको सदस्य बनाइएको छ भने सदस्य सचिवको जिम्मेवारी उद्योग मन्त्रालयका एक उपसचिवलाई तोकिएको छ।
चियाको सबैभन्दा ठुलो र प्रमुख निर्यात बजार त्यहाँका भन्सार तथा गुणस्तर मापदण्डका कारण नेपाली व्यवसायीहरूले पटक–पटक सास्ती भोग्दै आएका छन्। सरकारले नेपाली चिया निर्यातमा देखिएका व्यापारिक तथा प्राविधिक अवरोधहरूलाई स्थायी रूपमा हल गर्दै निर्यात प्रवर्द्धन गर्ने उद्देश्यका साथ यो कार्यदल अघि बढाएको हो।
कार्यदलले पेस गर्ने स्थलगत तथा प्राविधिक सुझावका आधारमा आगामी दिनमा आवश्यक कूटनीतिक तथा व्यापारिक पहल थालिने र सोही अनुरूप देशको आगामी नीति तथा कार्यक्रम तय गरिने अपेक्षा गरिएको छ।