arrow

काठमाडौँसहित पहाडी क्षेत्रमा वर्षा, तराईको घाममा धेरै समय बाहिर ननिस्कन आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ८ सोमबार
rain-kathmandu-out-too-82-12-25 (1).jpg

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका केही भूभागमा अत्याधिक गर्मी र तातो हावा (हिटवेभ) चल्ने सम्भावना रहेको जनाउँदै सतर्कता अपनाउन आह्वान गरेको छ। विभागले सार्वजनिक गरेको दैनिक मौसम पूर्वानुमान बुलेटिनअनुसार गण्डकी र बागमती प्रदेशका तराई क्षेत्रमा पनि तापक्रम वृद्धि हुने अनुमान गरिएको छ।

पश्चिम तराईका प्रमुख सहरहरू धनगढीमा तापक्रम ३८ देखि ४० डिग्री र नेपालगञ्जमा ३९ देखि ४१ डिग्री सेल्सियससम्म पुग्न सक्ने पूर्वानुमान गरिएको छ। वीरगञ्ज, भैरहवा र घोराही लगायतका क्षेत्रमा पनि चर्को घाम र अत्याधिक गर्मी रहने विभागले जनाएको छ। तातो लहर (लु) को प्रभाव पर्ने क्षेत्रका बासिन्दालाई अत्यावश्यक कामबाहेक दिउँसो घाममा धेरै समय बाहिर ननिस्कन, प्रशस्त पानी पिउन र जनस्वास्थ्य सुरक्षाका उपायहरू अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।

यता तराईमा गर्मी बढिरहेका बेला देशका विभिन्न पहाडी र हिमाली जिल्लाहरूमा भने मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ। पोखरा, काठमाडौँ, ओखलढुङ्गा, धनकुटा, विराटनगर, धरान, जिरी र ताप्लेजुङ लगायतका क्षेत्रमा आज हल्कादेखि मध्यम वर्षा हुन सक्ने पूर्वानुमान छ।

काठमाडौँ उपत्यकामा आज दिउँसो र राति मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना ४० प्रतिशत रहेको विभागले उल्लेख गरेको छ। वर्षा र बादलका कारण उपत्यकाको अधिकतम तापक्रम २९ देखि ३१ डिग्री सेल्सियस तथा न्यूनतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियसको वरपर रहने अनुमान गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ