काठमाडौँ । हिन्दु धर्ममा मुसालाई भगवान् गणेशको वाहनका रूपमा पुज्ने परम्परा छ। सामान्यतया मानिसहरू घरमा भित्रिएका मुसालाई धपाउन वा नियन्त्रण गर्न अनेक उपाय खोज्छन्। तर ललितपुर पाटनको ऐतिहासिक सौगल गणेश मन्दिरमा भने अचम्मको दृश्य देख्न पाइन्छ, जहाँ गणेशको प्रतिमावरिपरि दौडिरहेका मुसालाई दर्शनार्थीहरू श्रद्धापूर्वक हेर्ने र पूजा गर्ने गर्छन्।
मन्दिरको मुख्य स्थानमै शिर झुकाएर पूजा गरिरहेका भक्तालुहरू प्रतिमामा मुसा दौडिएको देखेर दङ्ग पर्ने गरेका छन्। यस दृश्यले स्थानीय भक्तजन र दर्शनार्थीहरूबिच विशेष चासो र कौतूहल जगाएको छ। भगवान् गणेशको वाहन मन्दिरमै यसरी देखिनुलाई धेरैले अनौठो र धार्मिक दृष्टिले शुभ मान्ने गरेका छन्।
धर्म संस्कृतिका अध्येता कृष्णदेव रुपाखेतीका अनुसार मन्दिरमा मुसा देखिनु धार्मिक रूपमा शुभ सङ्केत हो। त्यसमाथि पनि सौगल गणेश मन्दिरमा देखिएको सेतो रङको मुसा निकै दुर्लभ र अलौकिक हुनसक्ने उनले बताए। सेतो मुसालाई चमत्कारिक एवं भाग्यको प्रतीकका रूपमा समेत हेर्ने गरिन्छ।
स्थानीय भक्तजनहरूका अनुसार मन्दिरमा धेरै वर्ष अघिदेखि नै मुसाहरू देखिँदै आएका छन् र तिनलाई विघ्नहर्ता गणेशकै दूत वा स्वरूप मानेर आदर सत्कार गर्ने गरिएको छ। अध्येता रुपाखेतीले भने, “सामान्यतया हिन्दु मन्दिरहरूमा सम्बन्धित भगवानका वाहनहरूको पूजा र संरक्षण गर्ने चलन हुन्छ। शिव मन्दिरमा साँढे (नन्दी) लाई पुजिए झैँ गणेश मन्दिरमा मुसा देखिनु अस्वाभाविक होइन। त्यसमाथि सेतो मुसालाई निकै शुभ मानिन्छ।”
ऐतिहासिक र सांस्कृतिक रूपमा महत्त्वपूर्ण पाटनको सौगल गणेश मन्दिरमा वर्षभरि नै भक्तजनको घुइँचो लाग्ने गर्छ। मन्दिर परिसरमा संरक्षण गरिएको यो सेतो मुसाले यहाँको धार्मिक आस्था, लोकविश्वास र सांस्कृतिक महत्त्वलाई थप रोचक बनाएको छ।