रास्वपा महाधिवेशन: सभापति बन्न ५१ हजार शुल्क, कति चाहिन्छ प्रस्तावक र समर्थक ?
पदाधिकारीलाई ४१ र केन्द्रीय सदस्यलाई २१ हजार तोकियो
हाम्रा कुरा
प्रकाशित २०८३ असार ७ आइतबार
286
Shares
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशनका लागि उम्मेदवारी दर्ता शुल्क र आवश्यक सङ्गठनात्मक प्रक्रिया सार्वजनिक गरेको छ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगले शनिबार एक सूचना जारी गर्दै महाधिवेशनमा विभिन्न पदका आकांक्षीहरूका लागि लाग्ने शुल्क, प्रस्तावक, समर्थक र अन्य आवश्यक कानुनी कागजातबारे जानकारी गराएको हो।
आयोगले सार्वजनिक गरेको विवरण अनुसार पार्टीको सर्वोच्च पद अर्थात् केन्द्रीय सभापतिका लागि उम्मेदवारी दर्ता शुल्क ५१ हजार रुपैयाँ तोकिएको छ। सभापति पदका उम्मेदवारका लागि महाधिवेशन प्रतिनिधिहरूमध्येबाट १ जना प्रस्तावक र ५१ जना समर्थक अनिवार्य रूपमा हुनुपर्ने व्यवस्था गरिएको छ।
यसै गरी, पार्टीको केन्द्रीय पदाधिकारी पदका लागि ४१ हजार रुपैयाँ उम्मेदवारी शुल्क निर्धारण गरिएको निर्वाचन आयोगले जनाएको छ। पदाधिकारी पदमा उम्मेदवारी दिनका लागि १ जना प्रस्तावक र २१ जना समर्थक आवश्यक पर्नेछन्।
त्यस्तै, केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी शुल्क २१ हजार रुपैयाँ तोकिएको छ। केन्द्रीय सदस्यका आकांक्षीहरूका लागि पनि पदाधिकारी सरह नै महाधिवेशन प्रतिनिधिहरूमध्येबाट १ जना प्रस्तावक र २१ जना समर्थक अनिवार्य गरिएको निर्वाचन आयोगले जनाएको छ।