धवलजीले पार्टी छाडे जीवनकै अन्तिम गल्ती हुनेछ, अझै समय छ फर्कनुस् [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ असार ६ शनिबार
287
Shares
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले हालै पार्टी परित्यागको घोषणा गरेका पूर्वमहामन्त्री डा. धवलशमशेर राणालाई आफ्नो निर्णय सच्याउँदै पार्टीमा फर्किन आग्रह गरेका छन्।
पार्टीको केन्द्रीय समितिको बैठकका निर्णयहरू सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले पार्टी छाडेर गल्ती नगर्न राणा र उनी पक्षका नेताहरूलाई आग्रह गरे। पूर्वमहामन्त्री राणाले राप्रपा परित्याग गरी नयाँ राजनीतिक दल गठन गर्ने घोषणा गरिसकेका भए पनि अध्यक्ष लिङ्देनले भने राणाको उक्त कदमलाई उनको ‘जीवनकै अन्तिम गल्ती’ को संज्ञा दिएका छन्।
अध्यक्ष लिङ्देनले केन्द्रीय समिति बैठकसम्म आफ्ना नेताहरूले पार्टी छाडेको बारे कुनै आधिकारिक जानकारी नआएको दाबी गर्दै पुराना सहयात्रीहरूले यो उमेरमा आएर यस्तो गल्ती नगर्नेमा आफू अझै विश्वस्त रहेको बताए।
उनले भने, “हामीले पार्टीको केन्द्रीय समितिको बैठकमा यस विषयमा कुनै जानकारी पाएका छैनौँ। अहिलेसम्म हाम्रा कोही साथीहरूले सुन्नुभएको पनि छैन। उहाँहरूले जीवनको यो क्षणमा आएर यस प्रकारको गल्ती गर्नुहुन्न भन्ने मैले विश्वास गर्छु। कथम् कदाचित् उहाँहरूले यस प्रकारको काम गर्नुभयो भने त्यो उहाँहरूको जीवनको अन्तिम गल्ती हुनेछ। विगतमा पनि उहाँहरूबाट यस्ता काम हुँदै आएका हुन्, तर अझै समय बाँकी छ, निर्णय सच्याएर फर्कन म आग्रह गर्दछु।”
पार्टीभित्र सुरु भएको नेतृत्व परिवर्तनको बहसप्रति लक्षित गर्दै अध्यक्ष लिङ्देनले अहिल्यै नेतृत्वका बारेमा लुछाचुँडी वा बहस गर्ने समय नभएको स्पष्ट पारे। महाधिवेशनको निर्धारित समय आएपछि सबै साथीहरूसँग व्यापक छलफल, परामर्श र सहमति गरेर मात्र निष्कर्षमा पुगिने उनको भनाइ थियो। आगामी महाधिवेशनमा राप्रपाको नेतृत्वलाई अझ बढी प्रभावकारी, सशक्त, जुझारु र समयसापेक्ष बनाउने कुरामा नै सबैको ध्यान केन्द्रित हुनुपर्नेमा उनले जोड दिए।