हालको नेतृत्वको अन्तिम औपचारिक केन्द्रीय समिति बैठकमा रास्वपा
हाम्रा कुरा
प्रकाशित २०८३ असार ६ शनिबार
232
Shares
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को हालको केन्द्रीय समितिको औपचारिक अन्तिम बैठक आज यहाँ शुरू भएको छ । महाधिवेशनमा लैजाने ‘एजेन्डा’ पारित गर्न अन्तिम बैठक भरतपुरको दियालो फुडल्याण्डमा शुरू भएको हो ।
बैठकले आइतबारदेखि यहाँ हुने महाधिवेशनका प्रतिनिधिको अन्तिम नामावली पारित गर्ने प्रवक्ता मनिष झाले बताए । उनका अनुसार बैठकले विधान संशोधन प्रस्ताव पारित गर्ने छ ।
उनले भने, “यो अन्तिम औपचारिक बैठक हो, भैपरी आएमा अनौपचारिक बैठक बस्न सक्छ ।”
यसअघि नै सचिवालयले केन्द्रीय समितिका लागि पठाएका एजेन्डाहरूमाथि छलफल गरेर आज पारित हुने उनले बताए । ती एजेन्डा महाधिवेशनमा लगिने छ । त्यहाँ अनुमोदनपछि कार्यान्वयन हुने उनको भनाइ छ ।
विधान संशोधन गरेर केन्द्रीय समितिको सङ्ख्या बढाउन लागिएको छ भने महिला सहभागितालाई पनि बढाइँदै छ । बैठक सभापति रवि लामिछानेको अध्यक्षतामा बसिरहेको हो ।
यसअघि दिउँसो १ः०० बजे बस्ने भनिएको बैठक केही ढिलो र ठाउँ परिवर्तन गरी शुरू भएको हो । महाधिवेशनका लागि केन्द्रीय समितिसँगै नेता र प्रतिनिधिहरू चितवन आउने क्रम जारी रहेको छ । रासस