राष्ट्रपतिलाई भोटे देखाएर सम्पन्न हुँदै रातो मच्छिन्द्रनाथको रथयात्रा
हाम्रा कुरा
प्रकाशित २०८३ असार ५ शुक्रबार
360
Shares
काठमाडौँ । करिब १ हजार ६०० वर्ष पुरानो तथा नेपालकै सबैभन्दा लामो सांस्कृतिक-धार्मिक पर्वका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथयात्रा शनिबार राष्ट्र प्रमुखको उपस्थितिमा भोटो देखाएपछि औपचारिक रूपमा सम्पन्न हुने भएको छ। ललितपुर महानगरपालिका-४ का वडाध्यक्ष सन्तोष खड्काका अनुसार जावलाखेलस्थित ललित मण्डपमा भोटो देखाउने तयारी अन्तिम चरणमा पुगेको छ। प्रत्येक वर्षझैँ यस वर्ष पनि उक्त ऐतिहासिक भोटो सर्वसाधारण तथा विशिष्ट अतिथिहरूका सामु प्रदर्शन गरिनेछ।
वैशाख शुक्ल प्रतिपदादेखि सुरु भएको यस ऐतिहासिक रथयात्रामा भगवान् रातो मच्छिन्द्रनाथको मूर्तिलाई ३२ हात अग्लो रथमा विराजमान गराई पुल्चोक, मङ्गलबजार, सुन्धारा, लगनखेल, कुमारीपाटी हुँदै जावलाखेलसम्म परिक्रमा गराइएको थियो। रथलाई जावलाखेल पुर्याएको चौथो दिनमा भोटो प्रदर्शन गर्ने परम्परा अनुसार शनिबार यो विशेष जात्रा हुन लागेको हो।
वर्षा र सहकालका देवताका रूपमा पूजिने रातो मच्छिन्द्रनाथको जात्रा नेपालको प्राचीन तथा विशिष्ट सांस्कृतिक सम्पदामध्ये एक मानिन्छ। राजतन्त्रकालमा भोटो जात्रामा राजा उपस्थित हुने परम्परा रहेकामा गणतन्त्र स्थापनापछि राष्ट्रपतिले उक्त समारोहमा सहभागिता जनाउँदै आएका छन्।
भोटो देखाउने जात्रा सम्पन्न भएलगत्तै रातो मच्छिन्द्रनाथको मूर्तिलाई प्राचीन कलात्मक खटमा राखी बाजागाजासहित जावलाखेलबाट बुङ्मतीस्थित मच्छिन्द्रबहालमा लगेर विराजमान गराइने परम्परा छ। यस वर्षको जात्रा शान्तिपूर्ण, व्यवस्थित र सफलतापूर्वक सम्पन्न भएको बताउँदै वडाध्यक्ष खड्काले भोटो जात्रामा सहभागी हुन आउने भक्तजन तथा दर्शकहरूलाई सुरक्षा र व्यवस्थापनमा सहयोग गर्न आग्रह गरेका छन्। साथै, जात्रालाई व्यवस्थित बनाउन जावलाखेल क्षेत्रको फुटपाथमा व्यापार नगर्न समेत सम्बन्धित सबैलाई सचेत गराइएको छ।