संसदमा गृहमन्त्री गुरुङलाई प्रश्न– जीवी राई कहिले सम्पर्कमा आउँछन् ?
हाम्रा कुरा
प्रकाशित २०८३ असार ४ बिहिबार
326
Shares
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीकी सांसद पार्वती विकले गृहमन्त्री सुधन गुरुङलाई सहकारी ठगी प्रकरणका मुख्य आरोपी जीवी राई कहिले पक्राउ पर्छन् भन्दै प्रश्न गरेकी छन्। बिहीबार प्रतिनिधि सभा बैठकमा गृह मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा गृहमन्त्रीले जवाफ दिएपछि सांसद विकले स्पष्टीकरण माग गर्दै यस्तो प्रश्न सोधेकी हुन्।
सहकारी बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा १४ भदौ २०८० मा जाहेरी परेपछि जिल्ला प्रहरी कार्यालय कास्कीले राईसहित १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। उक्त प्रकरणका केही आरोपीहरू पक्राउ परे पनि मुख्य अभियुक्त राईलाई सरकारले हालसम्म नियन्त्रणमा लिन सकेको छैन।
बैठकमा बोल्दै सांसद विकले भनिन्, ‘जीवी राईजस्ता केही मान्छेहरू छन्, यी कहिले सम्पर्कमा आउँछन् ? राजदरबार हत्याकाण्डको अनुसन्धान कसरी गर्नुहुन्छ ?’
यसका साथै उनले शान्ति सुरक्षा र अपराध अनुसन्धानमा खटिने प्रहरीहरूको मनोबल बढाउनका लागि सरकारले विशेष कार्यक्रमहरू ल्याउनुपर्ने सुझाव समेत गृह मन्त्रालयलाई दिइन्।