निर्मला पन्त हत्या प्रकरणमा सुक्ष्म अनुसन्धान भइरहेको छ : गृहमन्त्री गुरुङ
हाम्रा कुरा
प्रकाशित २०८३ असार ४ बिहिबार
317
Shares
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले कञ्चनपुरकी निर्मला पन्तको हत्या प्रकरणलाई सरकारले उच्च प्राथमिकतामा राखेर सुक्ष्म अनुसन्धान गरिरहेको बताएका छन्।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा गृह मन्त्रालयको बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो जानकारी दिएका हुन्।
गृहमन्त्री गुरुङले यस प्रकरणमा मन्त्रालय अत्यन्त संवेदनशील रहेको र आफूले व्यक्तिगत रूपमा पनि गम्भीरताका साथ अनुगमन गरिरहेको स्पष्ट पारे।
अनुसन्धानका कतिपय प्रक्रियाहरू गोप्य राखेरै अगाडि बढाउनुपर्ने प्राविधिक बाध्यता रहेको उल्लेख गर्दै उनले नतिजा नआएसम्म कतिपय कुराहरू सार्वजनिक नगर्नु नै उपयुक्त हुने बताए।
विगतमा यस विषयलाई लिएर भएको राजनीतिकरणप्रति लक्षित गर्दै उनले एउटी बालिकाको निर्मम हत्या जस्तो संवेदनशील मुद्दामा राजनीति गरिनु दुःखद् भएको टिप्पणी गरे।
बैठकमा बोल्दै मन्त्री गुरुङले भने, ‘निर्मला पन्तको विषयमा मन्त्रालय संवेदनशील छ। एक बालिकाको शवमाथि जुन प्रकारको राजनीति गरियो, त्यसको अन्त्य गर्न पनि सम्बन्धित व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाहीका लागि हामीले सुक्ष्म अनुसन्धान अगाडि बढाएका छौँ।’
गृहमन्त्री गुरुङले दोषीलाई कानुनी दायरामा ल्याउन सरकार प्रतिबद्ध रहेको दोहोर्याउँदै यो जटिल अनुसन्धानलाई निष्कर्षमा पुर्याउन सबै पक्षको सहयोगको अपेक्षा समेत गरे।