विभिन्न कूटनीतिक गतिविधिहरूबाट मुलुकको राष्ट्रिय हित प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान : परराष्ट्रमन्त्री खनाल
हाम्रा कुरा
प्रकाशित २०८३ असार ४ बिहिबार
222
Shares
काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनालले आफ्नो भारत र चीन भ्रमणका साथै भएका विभिन्न कूटनीतिक गतिविधिहरूबाट मुलुकको राष्ट्रिय हित प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुगेको दाबी गरे। बिहीबार प्रतिनिधि सभा बैठकमा आफ्नो मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा उनले उक्त कुरा बताए।
नयाँ सरकार गठन भएपछि मन्त्रालयले कूटनीतिक गतिविधिलाई तीव्र पारेको उल्लेख गर्दै मन्त्री खनालले छिमेकी मुलुकहरूको भ्रमण, समकक्षीहरूसँगको टेलिफोन वार्ता र अन्य कूटनीतिक माध्यमबाट देशको हित रक्षा गरिएको स्पष्ट पारे। परराष्ट्र मन्त्रालयले चालू आर्थिक वर्षका लागि निर्धारण गरेका द्विपक्षीय तथा बहुपक्षीय बैठक, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहयोग प्रवर्द्धन लगायतका महत्त्वपूर्ण भ्रमण र भेटघाट सम्बन्धी कार्यहरू सफलतापूर्वक सम्पन्न गरेको उनले बताए।
जवाफ दिने क्रममा मन्त्री खनालले आगामी आर्थिक वर्षका लागि परराष्ट्र मन्त्रालय र अन्तर्गतका निकायहरूका लागि कूल ८ अर्ब ७३ करोड रुपैयाँ बजेट स्वीकृत भएको जानकारी दिए। उनले विनियोजित बजेटको अधिकतम उपयोग गर्दै नेपाल सरकारको नीति तथा कार्यक्रम अन्तर्गत परराष्ट्र मन्त्रालयलाई तोकिएका सम्पूर्ण कामहरू पूर्ण रूपमा मितव्ययी र प्रभावकारी रूपमा सम्पन्न गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।